अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम सुरु हुन्छ : एमाले 

लोकपथ
77
Shares

काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानूनी ठहर गरेको छ ।

पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्र सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्म विपरीत रहेको निष्कर्ष निकालेको हो । 

बैठकपछि महासचिव शङ्कर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै तत्काल रिहाइको माग गरे । 

अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीको निन्दा र भर्त्सना गर्दै तत्काल रिहाइको माग गर्ने निर्णय भएको बताए ।  

यो कदम लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्म विपरीत रहेको ठहर एमालेको रहेको पनि बताए ।  

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरे  । राजनीतिक दलहरू, नागरिक समाज र आम जनसमुदायलाई कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि संयुक्त पहलकदमी गर्न अनुरोध गर्ने निर्णय भएको पनि महासचिव पोखरेलको भनाइ छ । 

भोलि देशभर विरोध प्रदर्शन

महासचिव पोखरेलकाअनुसार गिरफ्तारीको विरोधमा चैत्र १५ गते आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोध पत्र बुझाइनेछ । पार्टी संवृद्ध जनसंगठनहरूले आजैबाट विरोध प्रदर्शनका कार्यक्रमहरू सुरु गर्ने जानकारी दिए  । 

उपाध्यक्ष विष्णु पौडेलले अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वयको नेतृत्व गर्नुहुने निर्णय भएको पनि महासचिव पोखरेलले बताए । 

बैठकले उपाध्यक्ष गोकर्ण विष्टले कानूनविदहरूसँग परामर्श गरी कानुनी लडाइँको संयोजन  गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए  । 

पार्टीले अध्यक्ष ओलीको गिरफ्तारीले संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधरहरूलाई चिन्तित तुल्याएको छ र यस प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताए  । समस्त पार्टी पंक्तिलाई विचलित नभई एकताका साथ अगाडि बढ्न आह्वान गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?