काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ’गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै भर्त्सना गरेका छन् ।
अध्यक्ष ओलीलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गर्दै सरकारको यो कदम संविधान र कानुनको भावना विपरीत रहेको बताएका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले गिरफ्तारीको प्रक्रियामा समेत गम्भीर प्रश्न उठाए ।
उनले छानबिन समितिले सिफारिस गरेको भनिए पनि कुनै ठोस अभियोग र प्रक्रिया पूरा नगरी रातारात जुन शैलीमा पक्राउ गरियो, यसले सरकारको प्रतिशोधको ज्वाला प्रस्ट पारेको बताए ।
अधिकारीले एमाले यस कदमको विरुद्धमा कानुनी र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्न तयार रहेको स्पष्ट पारे । उनले देशलाई द्वन्द्वमा नभई सहमति र सहकार्यको बाटोमा लैजान सरकारलाई आग्रह समेत गरे ।
उनले भने, ‘ यो गैर कानुनी जुन थुना भएको छ, तुरुन्त बिना सर्त उहाँलाई रिहा गर्नुपर्छ । र कानुनी राज्यको राज्यलाई अघि बढाउनुपर्छ, प्रतिशोधपूर्ण जुन गिरफ्तारी छ यो संविधान कानुन र न्यायको हिसाबले बिल्कुल विपरीत छ हामी यसको प्रतिवाद गर्छौँ । यसमा साइनै छैन, कुनै साइनै छैन उहाँको गिरफ्तारी छानबिन समितिले सिफारिस गरेर सरकारले त्यो अनुसार गरेको हो, यो अभियोगै नगरिकन रातारात जो गरिएको छ प्रतिशोधको ज्वाला उहाँहरूले त्यो बाल्नुभएको छ त्यसले देशै आगो बल्छ । यो गिरफ्तारी गैरकानुनी छ प्रतिशोधपूर्ण छ र गैर कानुनी गिरफ्तारी भएको हुनाले तुरुन्त उहाँलाई रिहा गर्नुपर्छ र देशलाई द्वन्द्वमा होइन सहमतिमा लानुपर्छ भन्ने कुरामा हामी प्रस्ट छौँ। हामी त्यसको प्रतिवाद गर्छौँ कानुनी र सडकबाटै यसको प्रतिवाद गर्छौँ ।’
उनले सरकारको यस्तो कदमले लोकतन्त्र र कानुनी राज्यको अवधारणामाथि नै प्रहार गरेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया