ओली र लेखक पक्राउको विषयमा हतारमा निर्णय नगर्ने पक्षमा कांग्रेस

लोकपथ
1.7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउको विषयमा नेपाली कांग्रेसले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएर धारणा बनाइरहेको छ । तर नेपाली कांग्रेसले भने त्यस विषयमा गम्भीर आन्तरिक छलफल गर्ने भनेपनि अहिलेसम्म कुनै छलफलको तयारी भने गरेको छैन ।

आन्तरिक छलफल गरेर आफूहरुले त्यस विषयमा धारणा सार्वजनिक गर्ने कांग्रेस महामन्त्री प्रदीप पौडेलले लोकपथलाई जानकारी दिए ।

‘हामी आन्तरिक रुपमा समीक्षा गरेर मात्रै त्यस विषयमा कसरी अघि बढ्ने भन्ने धारणा बनाउँछौँ,’ महामन्त्री प्रदीप पौडेलले लोकपथसँग भने ।

त्यस्तै सरकारले हतारो गरेर नेताहरुमाथि धरपकड गरेको उनको दाबी छ ।

‘यति ठूलो विषयमा कांग्रेस धारणाविहीन बस्ने भन्ने त हुँदैन । तर सरकारले जसरी हामी निर्णयमा हतारो गर्दैनौँ,’ उनको भनाइ रहेको छ ।

कांग्रेसले आज नवनिर्वाचित पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । सोही अभिमुखीकरणमा आन्तरिक छलफल गर्ने समेत तयारी गरिरहेको छ ।

बालेन शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?