काठमाडौं । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको बालेन्द्र शाह सरकारले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ भने पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्दै छ ।
हिजो शुक्रबार मात्रै गठित रास्वपा वरिष्ठ नेता शाह नेतृत्वको सरकारले ओली, लेखकसहित चार जनालाई पक्राउ गर्ने निर्णय गरेको थियो । सो विषयमा गृहमन्त्री सुदन गुरुङले प्रहरी प्रमुखहरूसँग रातभर छलफल गरेका थिए ।
सो छलफलमा भएको निर्णयअनुसार पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको जनाइएको छ ।
उता, नेकपा एमालेका अध्यक्ष ओलीलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरीहरू भक्तपुरस्थित उनको निवास गुण्डुमा पुगेका छन् । गुण्डुमा प्रहरी रातभरि नै तैनाथ थियो । प्रहरीहरू ओली निवास प्रवेश गरिसकेका छन् । निवासभित्र प्रवेश गर्ने क्रममा एमालेका नेता कार्यकर्ताहरूले अवरोध गर्न खोजेका थिए । केहीबेर धकेलाधकेलसमेत भएको थियो।
यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले एसपीदेखि जवानसम्मलाई शनिबार बिहान ७ बजेभित्र हेडक्वार्टर र अन्य युनिटको हकमा ७ बजे नै चुस्ता पोसाकमा तयारी हालतमा बस्न सर्कुलर जारी गरेको गरिएको छ ।
शुक्रबार राति प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग नवनियुक्त गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयमा छलफल गरी फर्किएपछि दुवै हेडक्वार्टरले यस्तो सर्कुलर गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया