मुलुकको जिम्मेवारी बालेनको काँधमा, ‘डेलिभरी’ दिन यस्तो बन्यो टिम

लोकपथ
70
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सहित मन्त्रीहरुले शपथग्रहणपछि पदभार समेत ग्रहण गरिसकेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच प्रधानमन्त्री बालेनसहित नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरे ।

हाल प्रधानमन्त्री बालेनसहित १५ सदस्यीय मन्त्रिमण्डल रहेको छ ।

बालेनले प्रधानमन्त्रीसहित रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।

दोस्रो वरियतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहेका छन् । त्यस्तै तेस्रो वरियतामा गृहमन्त्री रहँदा चौथो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् ।

यसअघि हुँदै आएको भद्धा मन्त्रालय समेत कम गरिएको छ ।

जसअनुसार सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय, विराजभक्त श्रेष्ठलाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यता खड्कराज पौडेललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइँदा, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै निशा मेहतालाई स्वास्थ्य तथा जनसंख्या, डा. विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना प्रविधि, प्रतिभा रावललाई संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला, गीता चौधरीलाई कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइँदा दिपकुमार साहलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता बादीलाई दिइएको छ ।

यसरी हेर्दा बालेनले आफैँसँग राखेको रक्षासहितको मन्त्रालयको जिम्मेवारी बाँडफाँट हुन सक्नेछ ।

फागुन २१ को निर्वाचनमा झण्डै २ तिहाइको शक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपासँग दुई तिहाइका लागि २ सिट मात्रै कम छ अर्थात् १८२ सिट रास्वपाले एक्लै ल्याउन सफल भएको छ ।

बालेन नेतृत्वको मन्त्रिमण्डलमा सबैजसो नयाँ अनुहारहरु रहेका छन् । बालेनपछिको दोस्रो वरियतामा रहेका डा. स्वर्णिम वाग्ले अर्थशास्त्री समेत हुन् । विश्व बैंकदेखि राष्ट्रिय योजना आयोगमा समेत बसेर काम गरिसकेका वाग्लेका लागि मन्त्रीको जिम्मेवारी भने नयाँ हो ।

त्यस्तै स्वर्णिमपछिको वरियतामा रहेका सुदन गुरुङ नयाँ पात्र हुन् । न राजनीतिक अनुभव, न कुनै क्षेत्रका विज्ञ । जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका उनलाई बालेनकै जोडबलमा गृह जस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

बालेन क्याबिनेटका २ मन्त्रीले यसअघि नै मन्त्रालयको जिम्मेवजारी सम्हालेका छन् । परराष्ट्रमन्त्री बनेका शिशिर खनाल र उर्जा मन्त्री बनेका विराभक्त श्रेष्ठ यसअघि नै मन्त्री बनिसकेका पात्र हुन् ।

यसअघि खनाल शिक्षा र श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका थिए । दुवैले छोटो समय मन्त्रालयको जिम्मेवारी सम्हाले पनि राम्रो काम गरेको भन्दै प्रशंसा भएको थियो ।

यद्यपि अन्य मन्त्रीहरु भने विलकुल नयाँ रहेका छन् ।

जसकारण बालेनले निर्माण गरेको क्याबिनेटको टिमले जनताको सवालमा कतिको काम गर्न सक्छन् भन्ने चासोका साथ हेरिएको छ ।

यस्तो छ नयाँ मन्त्रिमण्डल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?