कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

लोकपथ
273
Shares

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीया गीता चौधरी कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्री नियुक्त भएपछि उनको परिवारमा खुसी छाएको छ । उनका बुवा जयराम डगौंराले छोरीलाई जनताको हितमा काम गर्न सुझाव दिएका छन् ।

‘छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ,’ जयरामले भने, ‘सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस् ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कञ्चनपुर निर्वाचन क्षेत्र नं.२ बाट समानुपातिक सांसद बनेकी चौधरी चौधरी समुदायबाट संघीय सरकारमा मन्त्री बन्ने पहिलो थारु महिला बनेकी छन् ।

शुक्लाफाँटा नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालय, जोनापुरबाट प्रारम्भिक शिक्षा हासिल गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट पूरा गरेकी हुन् ।

त्यसपछि झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकी उनले काठमाडौं स्कुल एफ लबाट स्नातक र स्नाकोत्तर तह नेपाल ल क्याम्पसबाट पूरा गरेकी हुन् । चौधरी कानुन व्यवसायीसमेत हुन् ।

बुवा जयरामका अनुसार गीता बाल्यकालदेखि नै पढाइमा अब्बल हुनुका साथै समाजमा रहेका विभेद र कुरीतिविरुद्ध बोल्ने स्वभावकी थिइन् । ‘सात बहिनी र एक भाइमध्येकी माहिली गीता सानैदेखि सचेत थिइन्,’ उनले भने ।

निम्न आयस्रोत भएको परिवारबाट मन्त्री बन्न सफल भएकी छोरीको उपलब्धिप्रति परिवार गर्वित रहेको जयरामले बताए । ‘खेतीकिसानी र पछिल्लो समय सटरिङको काम गरेर घरखर्च र छोराछोरी पढाउने जिम्मेवारी पूरा गरेको छु,‘उनले भने, ‘छोरीको मेहनतले आज यो सफलता मिलेको हो ।’

त्यस्तै, उनका फूपाजु डम्बर चौधरीले पनि गीताले अध्ययनका लागि निकै संघर्ष गरेको बताए । ‘पढ्नका लागि ऋण गर्न पनि पछि नहट्ने बानी थियो,’ उनले भने, ‘विवाहपछि पनि अध्ययनसँगै राजनीतिमा सक्रिय भएर यहाँसम्म आइपुगिन् ।’

चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकी थिइन् । पहिलो पटकको उम्मेदवारीमै उनले सम्मानजनक मत प्राप्त गरेकी थिइन् । केही समयअघि मात्र रास्वपामा प्रवेश गरेकी उनलाई पार्टीले समानुपातिक सूचीबाट सांसद बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?