बादी समुदायबाट पहिलोपटक मन्त्री बनेकी सीता

लोकपथ
217
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएकी छिन् । बादी समुदायबाट मन्त्री बन्ने उनी पहिलो व्यक्ति हुन् । 

महिला सशक्तीकरणमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री बादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ बासिन्दा हुन् । हाल काठमाडौंको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी उनले राजनीतिक यात्रा रास्वपाबाट सुरु गरेकी हुन् । ‘महिलाहरूको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,’ उनले भनेकी छिन्, ‘स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु ।’

सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उनले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने भएकी छिन् । समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उनको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उनको योजना छ । 

बादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो । 

यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी बादी निर्वाचित भएकी थिइन् । 

‘बादी समुदायले खान र बस्नसमेत नपाएको अवस्था छ । बादी समुदायका छोरीहरूको अवस्था अन्धकारमय छ,’ उनले भनिन् । 

आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनाले भरिएको बताउँदै उनले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झिइन् । उनले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाइन् ।

यद्यपि उनले जीवनमा भोगेका थुप्रै संघर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताइन् । अभावका बीच पनि पढ्ने रहर उनले कहिल्यै मारिनन् र एउटा संस्थाले उनलाई शिक्षामा सहयोग गर्‍यो । समाजसेवा (बीएसडब्लु) अध्ययन पूरा गरेकी उनले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताइन् । 

पढ्न पाएपछि उनले जीवनलाई फरक ढंगले अगाडि बढाउन सक्ने भइन् । ‘समाजमा आत्मसम्मानको लडाइँ निकै ठूलो हुँदोरहेछ, जुन अहिलेसम्म लडिरहेछु,’ उनले भनिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?