काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आगामी नियमित महाधिवेशनका लागि ‘साझा आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव अघि सारेका छन् ।
पार्टी अहिले इतिहासकै जटिल र चुनौतीपूर्ण मोडमा रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई समेटेर साझा स्वामित्व सुनिश्चित नगरेसम्म कांग्रेस बलियो हुन नसक्ने बताएका हुन् । संसदमा कांग्रेसको उपस्थिति जम्मा ३८ सिटमा खुम्चिएको अवस्थालाई ‘अत्यन्त न्युनतम संख्या’ भन्दै डा. महतले यसलाई मध्यनजर गर्दै समग्र पार्टी पंक्ति एकीकृत हुनुपर्नेमा जोड दिए ।
डा. महतले विगतमा भएको विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गरे । आम निर्वाचनअघि नयाँ नेतृत्व नभई जान सकिन्न भन्ने तर्कका साथ विशेष महाधिवेशन गरिएको भएपनि त्यसको परिणाम सशक्त आउन नसकेको उनको ठम्याइ छ । अहिलेको विवाद समाधानका लागि विगतका गल्ती कोट्याएर ‘पोइन्ट स्कोर’ गर्नुभन्दा साझा बिन्दु पहिल्याउनुपर्ने महतको सुझाव छ । उनले आगामी नियमित महाधिवेशन सम्पन्न गर्न विशेष महाधिवेशनमा जोडिएका र नजोडिएका सबै पक्षलाई समेटेर एउटा ‘आयोजक समिति’ बनाउनुपर्ने प्रश्ताव गरे ।
आगामी चैत २२ गते अदालतबाट आउने निर्णयले कानूनी पाटो सम्बोधन गर्ने भएपनि पार्टीलाई जोड्न राजनीतिक संवाद नै अनिवार्य रहेको महतको भनाइ छ । उनले आफ्नो तर्फबाट सहमतिको वातावरण बनाउन आवश्यक योगदान दिन तयार रहेको समेत स्पष्ट पारे ।
नेता महतले सामाजिक सञ्जाल र मिडियामा एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्तिबाट मुक्त हुन पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया