काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायपालिकाका सन्दर्भमा उल्लेख गरेको विषयलाई लिएर नेपाल बार एसोसिएसनले आज बिहीबार दुई ओटा बैठक आयोजना गर्न लागेको छ ।
न्यायपालिकाका सम्बन्धमा आयोगले प्रतिवेदनमा अनर्गल विषय उल्लेख गरेको भन्दै बार एसोसिएसनले आकस्मिक बैठक डाकेको हो ।
नेपाल बार स्रोतका अनुसार, दिउँसो साढे १ बजे सल्लाहकारसहित बार कार्यसमितिको आकस्मिक बैठक बस्दैछ भने त्यसलगत्तै नेपाल बारको संवैधानिक समितिको बैठक पनि बस्ने भएको छ
बार कार्यसमितिको बैठक अध्यक्ष विजय मिश्रले डाकेका हुन् भने बार संवैधानिक समितिको बैठक संवैधानिक समितिका संयोजक टीकाराम भट्टराईले बोलाएका हुन् र
कार्की आयोगको प्रतिवेदनमा कार्यक्षेत्र बाहिर गएर न्यायपालिकाप्रति अनास्था जगाउने र भाँडभैलो मच्चाउने उद्देश्य राखिएको बारको प्रारम्भिक बुझाइ छ ।
के छ न्याय पालिकाबारे कार्की आयोगको प्रतिवेदनमा ?
– न्यायाधीशहरूले न्याय सम्पादन गर्दा सरकारको धारणाबाट प्रभावित हुने गरेको आरोप लाग्दै आएको छ । यसरी स्वतन्त्र रूपमा रहनुपर्ने सक्षम र सबैको भरोसाको केन्द्र न्यायालयसमेत राजनीतिक चंगुलमा फस्दा लोकतन्त्र कमजोर भएको महसुस आम नागरिकले गर्दै आएका छन्
– सर्वसाधारणले सामान्य निवेदन पनि लेखाउन नसक्ने अवस्था छ । तसर्थ यसको लागि नियमनकारी निकायले सूचकको आधारमा नियमन गर्ने साथै सर्वसाधारणको एकरूपताको लागि कामबमोजिमको एकीकृत शुल्क निर्धारण गरी कार्यान्वयन गर्ने गराउने गर्नुपर्दछ
– सुधारको लागि सर्वोच्च अदालतबाट नै आफ्नै न्यायाधीशको अध्यक्षतामा एक आयोग गठन गरेर सुधारका लागि सुझाव लिएर काम गरिनु पर्दछ, न्यायपालिकाप्रतिको वितृष्णा हटाउन, न्याय स्वच्छ, छरितो र किफायती बनाउन सर्वोच्च अदालत नै अग्रसर हुनु पर्दछ । मुद्दा छिटो छरितो गर्न गराउन मुद्दामा वकिलले हटाउने, बेन्च रोज्ने कूप्रवृत्ति हटाउनु पर्ने देखिन्छ
– एउटै मुद्दामा ५०सौँ वकिल राखेर प्रवचन दिने काम गराउनु भएन । विवादको तथ्य एक जना वकिलले प्रस्तुत गरेपछि लिड लयरले कानुनी त्रुटिमा मात्र बहस गराउने प्रणाली अपनाउनु पर्दछ । घण्टौँ बहस गरेर इजलासको समय बरबाद गर्न रोक्नु पर्दछ । न्याय सुलभ पार्न वकिलको फीलगायत विकृति र विसंगति फाँड्ने तथा न्यायलाई वकिलहरूको स्वर्ग हुनबाट बचाउनु पर्दछ ।
– पहुँच र पैसा नहुनेको लागि न्याय धेरै टाढाको विषय भएको छ । लोकतन्त्रको सुन्दरताको प्रमुख पक्ष न्यायिक विषयमाथि आम सर्वसाधारणको पहुँच नहुँदा न्यायपालिकाप्रति सर्वसाधारण रुष्ट हुन पुगेको छ ।
– न्यायपालिकाको आस्था र गरिमालाई नष्ट गर्ने काम बेला बेलामा हुने गरेको छ । अब यस्तो विकृति सुधार कसरी गर्ने गराउने भन्नेतिर सबैले सोच्नु पर्दछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया