काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन एकपक्षीय भएको टिप्पणी भइरहेका बेला त्यसैलाई बल पुग्नेगरी टिप्पणी गरेका छन् । उनले निष्पक्ष छानबिनका लागि कार्की नेतृत्वको आयोग नबनेको प्रतिवेदनले पुष्टि गरेको टिप्पणीसमेत गरेका छन् ।
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ भन्दै एमाले महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’
निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको उनले बताएका छन् । उनले अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै अबको बाटो सजिलो हुन नसक्ने टिप्पणी पनि गरेका छन् । उनले अब राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको पनि बताएका छन् ।
उनले भनेका छन्, ‘यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ’नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ । तर पनि सत्य कुरा के हो भने लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया