काठमाडौं । सरकारले भदौ २३ र २४ को जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (आज) गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।
यद्यपि उक्त प्रतिवेदन सरकारले सार्वजनिक गर्नुअघि नै सञ्चारमाध्यमले सार्वजनिक गरिसकेका छन् ।
प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री कार्कीले जाँचबुझ आयोगको प्रतिवेदनसहित अन्य ३ महत्वपूर्ण दस्तावेज सार्वजनिक गरेको जानकारी दिए ।
‘प्रधानमन्त्री कार्कीले आज (बुधबार) भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ,’ उनले भनेका छन्, ‘यसअघि हिजो ९मंगलबार० उहाँले नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गर्नुभएको थियो ।’
त्यस्तै प्रधानमन्त्री कार्कीले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको समेत रावलले बताए । यद्यपि यो मार्गचित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गर्नेछ ।
सरकारले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । सञ्चारमाध्यममा उक्त प्रतिवेदन हुबहु सार्वजनिक भएपछि सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया