काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ को नख्खु कारागारबाट बाहिरिनुमा आफ्नो कुनै दोष नभएको जिकिर गरेका छन् ।
जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनमा लामिछानेले आफूलाई भीडले धकेलेर बाहिर ल्याइएको बताएका छन् ।
भदौ २३ को जेनजी आन्दोलनको पहिलो दिन कारागारको अवस्था शान्त भए पनि भदौ २४ गते मध्यान्न साढे १२ बजेबाट त्यहाँको माहोल बिग्रिन पुगेको बताएका छन् । साथै आफूले नचाहँदा नचाहँदै कारागारबाट बाहिरिनुपरेको रविको जिकिर रहेको छ ।
यस्तो छ लामिछानेको बयानको व्यहोरा
मिति २०८२ भाद्र २३ गतेसम्म कारागारको अवस्था सामान्य नै थियो । तर भदौ २४ गते करिब दिउँसो १२ः३० बजे कारागारका नाइकेहरुले मलाई कार्यालयमा बोलाइ सुरक्षा निकायका प्रतिनिधिहरुले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र मलाई परिवार वा पार्टीको जिम्मा लगाई बाहिर पठाउनुपर्ने अवस्था आएको जानकारी गराए । मैले अदालतको आदेश बिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेँ । तथापि जेल प्रशासनले भीडलाई म स्वंयमले सम्झाउन सक्ने भन्दै पटकपटक आग्रह गरेपछि म कारागार प्राङ्गणमै रहेर भीडलाई सम्बोधन गर्न तयार भएँ र माईकको व्यवस्था गर्न भनेँ । प्रहरी आत्तिएको अवस्थामा भीले मलाई धकेल्दै बाहिर पुर्यायो । त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ । कारागार प्रशासनले मलाई औपचारिक रुपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नुहँदै भीडले मलाई कारागार बाहिर लगे । पछि मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वंय जवाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो । वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइयो र म निस्किन नचाहँदा नचाहँदै जबरजस्ती बाहिर पठाइयो ।
भदौ २४ को घटनामा मेरो र मेरो पार्टीको संलग्नता नरहेको स्पष्ट पार्दै मैले र राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको जनाएका छौँ, र यदी कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ । कारागारबाट बाहिरिएपछि सुभेच्छुकहरुको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत् म सुरक्षित स्थानमा पुगेँ र तत्क्षण नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका प्रमुखहरुलाई आफ्नो अवस्थाबारे जानकारी गराएँ । मसोही साँझ मैले भिडियो सन्देशमार्फन् पनि जनतालाई म सुरक्षित छु र अदालतमा पुनः उपस्थित हुनेछु भन्ने जानकारी दिएँ । मिति भदौ २८ गते सुरक्षाको प्रत्याभूती पाएपछि म पुनः नख्खु कारागार फर्किएँ । यस घटनाक्रमबाट सिक्दै कारागार सुधारका लागि खुला कारागार नीति अबलम्बन गर्नुपर्ने, कैदीबन्दीको मानसिक स्वास्थ्य तथा कानूनी परामर्श प्रणाली गर्नुपर्ने र कैदी पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव म राख्दछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया