काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनबारे प्रधानमन्त्री जवाफदेही नहुने तर्क गरेका छन् ।
जेनजी आन्दोलनबारे गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको सार्वजनिक प्रतिवेदनमा ओलीले आफू जिम्मेवार नहुने जिकिर गरेका हुन् ।
भदौ २३ गते नवयुवाहरुमाथि भएको गोली प्रहारबारे बयान दिँदै ओलीले त्यस विषयमा प्रधानमन्त्रीले प्रहरीलाई सोझै आदेश दिने विषय नरहेको समेत तर्क गरे ।
‘भाद्र २३ गते जियनजेड पुस्ताद्वारा भएको आन्दोलनको दौरानमा भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय होइन । प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन यसको लागि गृहमन्त्रालय विभागीय मन्त्रालयको रुपमा नै रहन्छ । तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन,’ जाँचबुझ आयोगको प्रतिवेदनमा ओलीले भनेका छन् ।
त्यस्तै जेनजीहरुको आन्दोलनमा घुसपैठ भइ सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, सुरक्षाकर्मीको ड्रेस तथा बन्दुक खोसी सेल्फी खिच्ने लगायतका गतिविधिहरु आन्दोलनको फाइदा उठाएर अर्कै समूहबाट घुसपैठ भएको बताएका छन् ।
‘सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरुका ड्रेस, बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उच्छृंखल क्रियाकलाप गर्ने कार्य पक्कै पनि आन्दोलनको घोषणा गरेका जियनजेडले होइन आन्दोलनको फाइदा उठाएर घुसपैठ समूहबाट भएको हो,’ उनले भनेका छन् ।
ओलीले भदौ २३ गते नै संसद भवन जलाउने प्रयास भएको समेत जिकिर गरेका छन् । साथै सो दिन युवायुवतीहरुमा उत्तेजना सिर्जना गरी संसद भवन जलाउन उद्धत गरिएको समेत बताएका छन् ।
‘संसद भवन जलाउने प्रयास २३ गते नै भएको हो । सो दिन आन्दोलनमा युवाहरुलाई अगाडी लगाएर आफ्नो उदेश्य पूरा गर्ने समूहले सुनियोजित रुपमा युवाहरुलाई उत्तेजना सिर्जित गरी ज्यान नै हताहती हुने सम्मको अवस्था सिर्जना गराएको हो,’ उनले भनेका छन् ।
सरकारले जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक नगरे पनि सञ्चारमाध्यमबाट अनौपचारिक रुपमा सार्वजनिक भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया