कांग्रेसको १५औँ महाधिवेशन असोज १६ बाट १९ गतेसम्म हुने, निर्वाचन समिति गठन

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति संशोधन गर्दै पारित गरेको छ ।

बुधबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले यसअघि भदौको अन्तिम साता गर्ने भनिएको १५औँ महाधिवेशनको मिति संशोधनसहित पारित गरिएको हो ।

बैठकपछि बोल्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले असोजको १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी पारित गरिएको बताए । त्यस्तै भदौ ३ गतेबाट वडा अधिवेशन सुरु हुनेछ ।

प्रवक्ता चालिसेका अनुसार महाधिवेशनका लागि वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति गठन भएको छ ।

‘तुरुन्तै महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ । वरिष्ठ अधिवक्ता नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काज्यूको अध्यक्षतामा निर्वाचन समिति बनाइएको छ,’ उनले भने ।

त्यस्तै कांग्रेसले पार्टीलाई रुपान्तरण र समयसापेक्ष बनाउने सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको उनले बताए । उनका अनुसार भ्रातृ संगठनहरुलाई सुदृढ र समयसापेक्ष बनाउनका लागि महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ ।

‘भ्रातृ संस्थाहरुलाई कागजमा होइन एक्सनमा देखिनुपर्छ । व्यवस्थित र र समयसापेक्ष गर्दै कसरी सुदृढ संगठनको रुपमा विस्तार गर्न सकिन्छ भन्ने सन्दर्भमा महामन्त्रीज्यूहरुको संयोजकत्वमा अध्ययन गरेर सुझाव उहाँहरुले दिनुहुन्छ, त्यही सुझावको आधारमा कार्यान्वयन गर्छौँ,’ उनले भने ।

फागुन २१ को निर्वाचनमा संसदमा सानो आकारमा खुम्चिएको कांग्रेसले संसदमा रचनात्मक भूमिका निर्वाह गर्ने समेत उनले बताए ।

‘जनताका सेवा, जनताका सुविधाका क्षेत्रहरुलाई पनि उन्नत बनाउँदै लैजाने कुराहरुमा हामे सकारात्मक सहयोग हुन्छ । हामी वाचडकको रुपमा रहन्छौँ । सकारात्मक कुरामा सहयोग हुन्छ । तर जनताका सवालका कतिपय कुराहरुमा हाम्रो प्रतिरोध पनि हुनसक्छ,’ उनले भने ।

भोलि दिउँसो ३ बजे कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी बैठकको निर्णयबारे जानकारी दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?