प्रतिनिधि सभाका जेष्ठ सदस्य केसीले गरे नवनिर्मित संसद भवनको अवलोकन

लोकपथ
182
Shares

काठमाडौं । प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्मित संघीय संसद भवनको अवलोकन गरेका छन् ।

बुधबार दिउँसो कार्यभार सम्हालेपश्चात केसीले सिंहदरबारस्थित नवनिर्मित भवनको अवलोकन गरेका हुन् ।

केसीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण समेत गरेका थिए ।

बिहीबार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको शपथग्रहण रहेको छ । संविधान अनुसार नयाँ सभामुख चयन हुनुअघि प्रतिनिधि सभाका जेष्ठ सदस्यले नै नवनिर्वाचित सदस्यहरुलाई शपथ र सभा सञ्चालन गर्ने व्यवस्था रहेको छ ।

हाल सिंहदरबारमा नयाँ संसद भवनको निर्माण कार्य भइरहेको छ । भवन निर्माण सम्पन्न नभए पनि वैकल्पिक रुपमा नयाँ सदस्यहरुलाई बहुउदेश्यीय भवनको हलमा शपथग्रहणको तयारी भइरहेको छ ।

शपथग्रहणको हल र भवनको अवलोकनपश्चात जेष्ठ सदस्य केसीले नयाँ सभामुखको चयन अघि आफूलाई प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिक्रिया दिएका छन् ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद लोकतन्त्रको मूल आधार भएको बताए ।

उनले संसदबाट आउने विभिन्न विचारहरुको संयोजन गरेर साँझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रुपमा भूमिका खेल्ने बताए ।

उनले भने, ‘लोकतन्त्रको मूल आधार थलो रुपमा रहेको संसदमा भिन्न विचारहरु आउँछन् । त्यसलाई संयोजन गरेर सहमतिपूर्ण ढंगले निष्कर्ष निकाल्नुपर्ने हुन्छ । त्यसकारण म जति समय रहन्छु संसद सञ्चालन गर्न समय पाउँछु कि पाउँदिन त्यो त थाहा छैन । तद्अनुसार संसदको रक्षकको रुपमा र जनप्रतिनिधिहरुको विषेशाधिकारको रक्षा गर्नेगरी भुमिका खेल्छु ।’

फागुन २१ को निर्वाचनमा केसी नेपाली कांग्रेसका तर्फबाट समानुपातिकबाट सांसद बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?