काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले व्यक्त गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठुलो दायित्व आएको बताएका छन् ।
निर्वाचन आयोग नेपालद्वारा आज बहादुर भवनस्थित आयोग परिसरमा आयोजित जलपान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिका लागि सबै एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले लोकतन्त्रमा मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एकजुट हुने विश्वास व्यक्त गरे । ‘निर्वाचनमार्फत जनताले दिएको अभिमतले अब जनप्रतिनिधिको काँधमा ठुलो दायित्व आएको छ, ‘उनले भने ।
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्यअनुसार जनताको जीवनस्तर उकास्न र मुलुकलाई समृद्ध बनाउन सबैलाई मिलेर अघि बढ्न आह्वान गरे । उनले निर्वाचनमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास थप मजबुत भएको उल्लेख गरे ।
उनका अनुसार मतदाताले मतदान केन्द्रमा पुगेर व्यक्त गरेको मतादेशले देशको भविष्यलाई दिशानिर्देश गरेको छ र यसले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाएको छ ।
राष्ट्रपति पौडेलले यस पटकको निर्वाचनमा मतदाता सहभागिता वृद्धि, मितव्ययिता, पारदर्शिता, आचारसंहिताको प्रभावकारी कार्यान्वयन तथा हरित निर्वाचनको अवधारणा लागू गर्ने क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए । उनले यस्ता प्रयासले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरणमैत्री बनाउन सहयोग पुगेको तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत प्रशंसा प्राप्त भएको धारणा व्यक्त गरे ।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने सरकार, आयोग, कर्मचारी, सुरक्षाकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया