काठमाडौं । अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर आतंक सिर्जना गरिएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरूमा डोजर चलाइएकोप्रति आपत्ति जनाउँदै भूमिहीन तथा अव्यवस्थित बसोवासी समस्या कानुनी रूपमा समाधान गर्नुपर्नेमा उल्टै बस्ती हटाउने कार्य भइरहेको आरोप लगाएको हो ।
संघका इन्चार्ज नरेन्द्र खड्का ले टोखा नगरपालिका–७ धापासीस्थित सुकुम्वासी बस्तीका १८ घरमा चैत ९ गते डोजर चलाइएको जानकारी दिए । यसअघि सिफल र भक्तपुर का बस्तीहरूमा पनि यस्तै कार्य गरिएको उनको भनाइ छ ।
उनले वर्तमान सरकारलाई निर्वाचनबाहेक अन्य काम गर्ने जनादेश नभएको उल्लेख गर्दै सुकुम्वासी बस्तीमा डोजर चलाउनुको औचित्यमाथि प्रश्न उठाए । साथै, सरकार गठन प्रक्रियामा रहेका राजनीतिक दलहरू यस विषयमा मौन बसेकोप्रति पनि असन्तुष्टि जनाए ।
संघका नेता प्रकाश खरेल ले सुकुम्वासीलाई ‘अतिक्रमणकारी’को रूपमा चित्रण गर्ने प्रवृत्ति बढेको भन्दै वर्षौंदेखि सरकारी तथा ऐलानी जग्गामा बसोवास गरिरहेका नागरिकलाई व्यवस्थापन गर्नुको सट्टा विस्थापित गरिँदै आएको गुनासो गरे । उनले अव्यवस्थित बस्तीमा डोजर प्रयोग तत्काल रोक्न र भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न माग गरे ।
धापासी बस्तीका पीडित दलबहादुर खड्का ले भने सूचना दिएर झुक्याई बस्तीमा डोजर चलाइएको आरोप लगाए । उनका अनुसार चैत ८ गते वडाध्यक्षले भाडामा लगाइएको घर भत्काइने सूचना जारी गरे पनि भोलिपल्ट आफूहरूलाई छलफलका लागि बोलाएर एक्कासी बस्तीमा डोजर चलाइएको थियो ।
उनले आफूहरू २०६० सालदेखि सो स्थानमा बस्दै आएको र लालपूर्जाका लागि भूमी आयोगमा निवेदन दिइसकेको जानकारी दिए ।
संघले क्रान्तिकारी भूमिसुधार लागू गर्न, भूमिहीन नागरिकलाई आवास उपलब्ध गराउन, डोजर प्रयोग तत्काल बन्द गर्न, भूमि समस्या समाधानका लागि कानून संशोधन गर्न तथा लालपूर्जा वितरणलाई तीव्रता दिन सरकारसँग माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया