रविलाई आयो अमेरिकाको बधाई

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकाले बधाई दिएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा झण्डै दुई तिहाई मत प्राप्त गरेको रास्वपालाई अमेरिकाले फोन सम्पर्क गरी बधाई दिएको हो ।

मंगलबार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी विशेष दूत सर्जिओ गोरले लामिछानेलाई फोन सम्पर्क गरी बधाई दिएका हुन् ।

नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै सो विषयमा जानकारी गराएको हो ।

‘दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चैत्र १० गते फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको छ,’ नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

त्यसैगरी अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै दुई मित्र राष्ट्रको सम्बन्धलाई थप गहिरो बनाउन उत्सुक रहेको समेत जनाइएको छ ।

‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,’ अमेरिकी दूतावासले भनेको छ ।

झण्डै दुई तिहाई बहुमतसहित सरकार बनाउने तयारीमा रहेको रास्वपालाई भारत, चीन लगायतका मित्र राष्ट्रहरुले यसअघि नै बधाई दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?