समाचार लेखेकै कारण गोल्याण समूहद्वारा लोकपथविरुद्ध २ करोड क्षतिपूर्तिकाे मुद्दा दायर

लोकपथ
728
Shares

काठमाडौं । गोल्याण समूहका अध्यक्ष अक्षय गोल्याणले लोकपथ डटकमविरुद्ध २ करोड रुपैयाँको क्षतिपूर्तिको माग दाबी लिई मुद्दा दायर गरेका छन् । गोल्याणले आफ्नो बेइज्जत गराएको भन्दै लोकपथविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतबाट लोकपथलाई प्राप्त भएको फिरादमा गोल्याण समूहका अध्यक्ष अक्षय गोल्याणले आफ्नो व्यावसायिक प्रतिष्ठामा क्षति पुराएको दाबी गर्दै २ करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी लिई मुद्दा दायर गरेको पाइएको छ ।

गोल्याणको उक्त फिरादमा लोकपथमा प्रकाशित पियोर इनर्जीसँग सम्बन्धित विषयमा प्रकाशित समाचारले आफ्नो व्यावसायिक प्रतिष्ठामा क्षति पुगेको दाबी गरिएको छ ।

लोकपथ डटकमले गत माघ १२ गते ‘पियोर इनर्जीका अध्यक्ष अक्षय गोल्याणलाई २ वर्ष कैदको सिफारिस’ शीर्षकमा समाचार लेखेको थियो । उक्त समाचारले आफ्नो व्यावसायिक प्रतिष्ठामा क्षति पुराएको कारण गाली बेइज्जतीमा कारबाही गर्दै २ करोड क्षतिपूर्ति भराउन समेत माग दाबी लिएका छन् ।

के हो अक्षय गोल्याणलाई कैदको सिफारिस भएको विषय ?
पियोर इनर्जी लिमिटेडका संस्थापक लगानीकर्ताका रूपमा रहेका गोल्याण समूहका पदाधिकारीलाई २ वर्ष कैदका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डमा सिफारिस गरेको थियो ।

धितोपत्र अभौतिकीकरण गर्ने सम्बन्धमा भ्रामक सूचना प्रकाशन गरेको र लगानीकर्तालाई भ्रममा राखेको भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पियोर इनर्जीका पदाधिकारीलाई २ वर्षसम्म कैद र ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको माग दाबी लिई कारबाहीका लागि धितोपत्र बोर्डमा सिफारिस गरेको थियो । सीडीएससीले गरेको कारबाहीको सिफारिसमा जरिबाना गराउँदा जनताकै र सर्वसाधारण लगानीकर्ताको रकमबाटै तिर्ने हुनाले त्यसले लगानीकर्तालाई नोक्सान हुने भन्दै झूटा र भ्रामक सूचना प्रकाशित गर्ने जिम्मेवार पदाधिकारीलाई २ वर्षसम्म कैद सजाय नै गर्न सिफारिस गरेको थियो ।

पियोर इनर्जी लिमिटेडले आफ्ना सर्वसाधारण र संस्थापक समूह दुवैको सेयर एउटै आईजीनमा अभौतिकीकरण गर्नका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा निवेदन दिएको थियो । सेयर अभौतिकीकरण गर्ने काम सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गर्ने भएकाले उसलाई निवेदन दिँदा कम्पनीले सर्वसाधारण र संस्थापक समूहको सेयरलाई एउटै आईजीनमा उल्लेख गरी अभौतिकीकरण गरिदिन माग गरिएको थियो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र अभौतिकीकरण सम्बन्धी निर्देशिका तयार पारी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको थियो । उक्त निर्देशिका बोर्डले करिब ९ महिनादेखि होल्ड गरेर राखेको थियो ।

उक्त निर्देशिकामा धितोपत्र अभौतिकीकरण गर्दा फरक फरक आईजीनबाट गर्ने र लक इन अवधि सकिएपछि साधारण सभाबाट पारित गराएर मात्रै सर्वसाधारण समूहमा परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । यद्यपि बोर्डले अहिलेसम्म त्यस सम्बन्धमा कुनै निर्णय गरेको छैन ।

केही समय अगाडि आइपिओ निष्कासन गरेको पियोर इनर्जी लिमिटेडले ८० लाख कित्ता सेयरमध्ये १६ लाख कित्ता सेयर सर्वसाधारण समूहबाट बिक्री गरिसकेको छ । उक्त सेयरहरू यति बेला सीडीएससीले अभौतिकीकरण गरी नेप्सेबाट कारोबारसमेत भइसकेको छ ।

पियोर इनर्जीको बाँकी रहेको ६४ लाख कित्ता भने सीडीएससीले अभौतिकीकरण गरिदिएको छैन । कम्पनीले सुरुमै दुई वटा आईजीन हुने गरी सीडीएससीमा निवेदन दिएका कारण फरक फरक आईजीनमा अभौतिकीकरण गरिदिने भनी सोहीअनुसारको निवेदन पठाउन भनेको थियो । तर पियोर इनर्जी प्रालिले भने पटक पटक सर्वसाधारण समूहकै आईजीनमा संस्थापक समूहको सेयरसमेत मिसाउने गरी निवेदन दिएको पाइएको छ । तर सीडीएससीले उसको निवेदन पटक-पटक अस्वीकार गरेको पाइएको छ ।

पछि केही सञ्चारमाध्यममा पियोर इनर्जीले संस्थापक सेयर पनि सर्वसाधारण समूहमा मिसाउने गरी निवेदन दिएको विषय सार्वजनिक भएपछि पियोर इनर्जी प्रालिले खण्डन निकालेर आफूले एउटै आईजीन माग गरेको भान हुने गरी समाचार प्रकाशन गरिएको भन्दै आपत्ति जनाएको थियो ।

तर पियोर इनर्जीले आफूले एउटै आईजीनको माग नगरेको दाबी गर्दै खण्डन निकालेपछि पनि उसले सीडीएससीलाई पत्र लेख्दै एउटै आईजीन नम्बर उपलब्ध गराउन माग गरेको थियो ।

पियोर इनर्जीले खण्डन निकालेपछि सीडीएससीमा दिएको निवेदनमा समेत सर्वसाधारण समूहकै आईजीनमा तीन दिनभित्र अभौतिकीकरण गरिदिन भनिएको छ ।

हेर्नुहोस् पत्र


यता सीडीएससीमा एउटै आईजीन नम्बरमा संस्थापक सेयरलाई पनि सर्वसाधारण सेयरमा अभौतिकीकरण गरिदिन माग गर्ने तर बाहिर आफूहरूले एउटै आईजीन नम्बरको माग नगरेको भन्दै खण्डन प्रकाशन गरी सर्वसाधारण लगानीकर्तालाई भ्रममा राख्न खोजिएको र धितोपत्र बजारलाई प्रभावित पार्न खोजेको भन्दै सीडीएससीले यसका सञ्चालकलाई २ वर्षको कैद सजाय गर्न धितोपत्र बोर्डलाई सिफारिस गरी अदालतमा मुद्दा चलाउन भनेको थियो ।

सीडीएससीले धितोपत्र बोर्डलाई लेखेको पत्रको ब्यहोरा यस्तो थियो ।

यही विषयलाई लिएर लोकपथ डटकमले गोल्याण समूहका अध्यक्ष अक्षय गोल्याण समेतलाई जेल सजायको सिफारिस गरिएको विषय उल्लेख गरी पत्रसमेत समावेश गरेर समाचार प्रकाशन गरेको थियो ।

साही समाचारको आफ्नो प्रतिष्ठामा आघात पुगेको, समाचारमा आफूलाई जेलभित्र राखिएको संकेतमा देखाइएको, सीडीएससीको सिफारिस अख्तियारीविहीन, गैर कानुनी र पूर्वाग्रहपूर्ण रहेको, प्रकाशित समाचार भ्रामक रहेको दाबी गरिएको छ ।

जबकि सोही फिराद पत्रमै तल भने आफूहरूले सुरुदेखि नै एकल आईजीन माग गरेको स्वीकारोक्तिसमेत गरिएको छ ।
फिरादमा गोल्याणले समाचार प्रकाशन पूर्व आफूहरूसँग कुनै सम्पर्क नै नगरिएको दाबी गरेका छन् । जबकि समाचार प्रकाशन हुनुर्पर्व २०८२ पुस ४ गते अक्षय गोल्याणको मोबाइल नम्बर ९८०१०XX२७८ र माघ १२ गते समेत सम्पर्क गरेको थियो । तर गोल्याणले दुवै पटक फोन उठाएका थिएनन् । त्यसबाहेक सोही मोबाइलमा एसएमएससमेत पठाइएको छ, जसको जवाफसमेत गोल्याणले दिएका छैनन् ।

गोल्याणले आफ्नो फिराद पत्रमा सीडीएससीले कैद सजायका लागि गरेको सिफारिसका सम्बन्धमा लेखेको समाचारलाई आपराधिक कार्य समेत भनेका छन्, जबकि लोकपथले कैद सजायको सिफारिसको पत्र नै प्रकाशन गरेको छ ।

हेर्नुहोस् समाचारको अर्काइभ लिंक

पियोर इनर्जीका अध्यक्ष अक्षय गोल्याणलाई २ वर्ष कैदको सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?