काठमाडौं । काठमाडौं महानगरपालिकाले समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्दै महामारीजन्य रोग नियन्त्रणमा नयाँ पहल थालेको छ । महानगरपालिकाको स्वास्थ्य विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा सबै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मीहरूलाई दुई दिने तालिम दिएको छ ।
महामारी तथा रोग नियन्त्रण महाशाखाका फोकल पर्सन कौशलचन्द्र सुवेदीका अनुसार, तालिममा स्वास्थ्यकर्मीहरूलाई रोग पहिचान, तथ्याङ्क संकलन, जोखिम मूल्याङ्कन र त्यसअनुसार प्रतिकार्य गर्ने सीप प्रदान गरिएको छ । उनले भने, ‘समुदायमै रोगको प्रारम्भिक पहिचान, निगरानी र नियन्त्रणका लागि यो प्रणाली महत्त्वपूर्ण हुनेछ । कोरोना महामारीले कमजोर रोग निगरानी प्रणालीको असर देखाएको थियो, त्यसैले अब प्रभावकारी निगरानी आवश्यक छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ असारमा ५२ प्रमुख संक्रामक रोगलाई प्राथमिकतामा राखेर नियन्त्रण रणनीति अघि बढाएको छ भने, ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेर समुदायस्तरमै रोग नियन्त्रण प्रणाली कार्यान्वयन गर्ने मार्गनिर्देशन दिएको छ ।
अब समुदायमा असामान्य स्वास्थ्य घटना देखिएमा नागरिकले नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ हटलाइन १११५ मा तत्काल जानकारी दिन सक्नेछन् । धेरै मानिस बिरामी पर्नु, नयाँ रोग देखिनु, पशुपंक्षीको अस्वाभाविक मृत्यु हुनु वा ज्वरो, झाडापखाला, श्वासप्रश्वासजस्ता लक्षण व्यापक देखिनु यसमा समावेश छन् ।
महानगरको स्वास्थ्य सेवा विभागका प्रकाश परियारले भने, ‘ठूला अस्पताल भए पनि समुदाय स्तरमा सेवा पुग्न सकेको छैन । अहिलेको स्वास्थ्य प्रणाली उपचारमुखी भएकाले अब रोकथाममुखी रणनीतिमा जानुपर्छ। समुदायमै रोग निगरानी प्रणाली लागू भएमा रोग फैलिन नदिन र समयमै नियन्त्रण गर्न सहज हुनेछ ।’
समुदायमा आधारित रोग निगरानी प्रणाली डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुनेछ । यसमा संकलित जानकारी विश्लेषण र वर्गीकरण गरिनेछ, जोखिमको आधारमा न्यून, मध्यम र उच्च तहमा विभाजन गरी द्रुत प्रतिकार्य टोली परिचालन गरिने व्यवस्था छ । साथै, एआई प्रविधिको प्रयोगबाट अनलाइन प्रकाशित संक्रामक रोगसम्बन्धी सूचना निगरानी गरी प्रारम्भिक चेतावनी प्राप्त गर्न सकिनेछ ।
महानगरपालिकाले यस प्रणालीको पूर्ण कार्यान्वयनपछि संक्रामक रोगहरूको छिटो पहिचान, नियन्त्रण र सम्भावित महामारी न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया