मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा 

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेका बताएका छन् । 

पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले यस्तो  बताएका हुन् । 

उनले २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफूहरूको मुख्य माग रहने बताए । 

उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रस्ताव गर्ने  बताए । 

नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठुलो नागरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने उनको भनाइ छ  । 

विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानुनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए । 

उनले भने, ‘२०८२ सालबाट २०८७ सालसम्मको एउटा अध्याय सुरु भयो । यो विशेष परिस्थितिमा भएको सरकार हो । अब बन्ने सरकारसँग सुशासनको सन्दर्भमा धेरै अपेक्षाहरू छन् । हामी प्रतिपक्षको तर्फबाट गर्नुपर्ने भूमिका निर्वाह गर्छौँ । तर हामीले यसको लागि २०८२ साल अघिका कुराहरू पनि टुंग्याउनुपर्छ । २०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ । हामीले निर्वाचनमा जाँदा यो विषय उठाएका थियौँ । रास्वपाले पनि भनेको थियो । अब हाम्रो माग यो रहन्छ । हामीले यो ३५ सालको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएको पनि सुन्यौँ । यो सार्वजनिक खपतको विषय बनाइनुहुन्न । नेपाली कांग्रेसले अब कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयका सन्दर्भमा कानुनसम्मत हिसाबले छानबिन हुनुपर्छ । यो सार्वजनिक खपतको विषय हुनुहुन्न । भ्रष्टाचारको छानबिन र शासकीय शक्तिको दुरुपयोगको अनुसन्धानको सन्दर्भमा काँग्रेसको पूर्ण साथ रहन्छ ।’

उनले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?