काठमाडौं । प्रहरीले वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका शिवराज कार्कीलाई पक्राउ गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा बस्दै आएका ४४ वर्षीय कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार स्वयम्भूबाट पक्राउ गरेको हो ।
पासाङ नोर्बु तामाङसमेतको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । उनले प्रतिव्यक्ति १ लाखदेखि २० लाख रुपैयाँसम्म असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणले गत भदौ ४ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनले १० वर्षदखि काठमाडौंको चाबहिलमा पीएन्डएम इन्नोभेटिभ सर्भिस नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएको जनाइएको छ । उनले वैदेशिक रोजगारमा पठाईदिन्छु भनी २०० देखि २५० जनालाई ठगी गरेको र जसमध्ये एक सय जनाभन्दा बढी पीडितहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
४४ वर्षीय कार्की तेलभिषा नामक चलचित्रको निर्माता पनि हुन् । उनीविरुद्ध गत असार २४ गते प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरसम्बन्धी मुद्दा पनि दर्ता भएको देखिएको जनाइएको छ । उनी विगत ३ महिनादेखि भारतको नयाँदिल्लीस्थित पहाडगञ्जमा अन्नपूर्ण फास्टफुड खोली बसेको पनि ुखलेको छ ।
उनले पीडितहरूलाई युरोपका क्रोएसिया, ग्रिस, इटाली, अजरबैजान, सर्बियालगायतका देशहरुमा पठाउने गरेका थिए । ठगीएका पीडितहरुमध्ये धेरै जसो सिन्धुपाल्चोक जिल्लाका रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया