काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर क्षेत्रमा हुलाकी सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा ३ जना स्थानीय र ९ जना प्रहरी घाइते भएका छन् ।
भारतीय सीमाबाट अवैध रूपमा लागुऔषध भित्रिने क्रम बढेको र त्यसले स्थानीय बालबालिकामा कुलत बढाएको भन्दै आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । सोही क्रममा स्थिति तनावग्रस्त बन्दै जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीमाथि ढुंगा प्रहार भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रयोग गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले प्रहरीमाथि आक्रमण भएपछि आवश्यक बल प्रयोग गर्नुपरेको बताए । घटनापछि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।
झडपमा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीयले भारतसँग जोडिएको लौकही नाकाबाट हुने लागुऔषध तस्करी पूर्ण रूपमा रोक्न माग गरेका छन् । प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया