कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक, गगन पनि सहभागी हुने

लोकपथ
154
Shares
कांग्रेस सभापति गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृती भवन, वीपी नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसो त कांग्रेसको यसअघि शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आइतबार सम्पन्न भएको थियो ।

मंगलबार (भोलि) को बैठकमा भने राजीनामा अस्वीकृत गरिएका सभापति गगनकुमार थापा पनि सहभागी हुनेछन् ।

केन्द्रीय कार्यसमिति बैठकले नै सभापति थापाको राजीनामा अस्वीकृत गरिसकेको कारण वैधानिक रुपमा पार्टी काममा फर्किन मिल्ने र भोलिको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले लोकपथलाई जानकारी दिए ।

‘केन्द्रीय कार्यसमितिले नै राजीनामा अस्वीकृत गरिसकेको छ । भोलिको बैठकमा सभापति गगनकुमार थापा पनि सहभागी हुनुहुन्छ,’ चालिसेले लोकपथसँग भने ।

आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

विभिन्न ८ वटा आधार तथा कारण दिँदै कांग्रेसले राजीनामा अस्वीकृत गरिदिएको हो ।

फागुन २१ को निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि नैतिकता देखाउँदै सभापति थापाले राजीनामा दिएका थिए ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको कांग्रेसले आगामी १५औँ महाधिवेशन गर्ने तयारीमा लाग्ने समेत जनाएको छ । आइतबार सम्पन्न बैठकले १५औँ महाधिवेशनको तयारीमा जुट्ने निर्णय समेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?