सरकारलाई प्रदीप पौडेलको प्रश्न– ‘कार्की आयोगको प्रतिवेदन के कारण रोकियो ?’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका महामन्त्री पौडेलले सरकारले आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आलटाल गर्दा थप शंका उत्पन्न भएको समेत बताए ।

‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ,’ उनले भनेका छन् ।

त्यस्तै उनले उक्त प्रतिवेदन सार्वजनिक गर्न के विषयले रोक्यो ? भन्दै प्रश्न समेत गरेका छन् । साथै यसअघिका विभिन्न प्रतिवेदन जस्तै यो प्रतिवेदन पनि गुपचुप हुन दिन नहुने बताए ।

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन ? यक्ष प्रश्न खडा भएको छ,’ उनले भनेका छन्, ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’

आइतबार साँझ सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले समेत सो विषयमा चासो देखाएको थियो । साथै उक्त प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेको पौडेलले बताए ।

‘नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । तर सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?