काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ ।
शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार विभिन्न आधारमा टेकेर कांग्रेसले सभापति थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो ।
‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ उनले भनेका छन् ।
शुक्रबारको बैठकमा सभापति थापाले दिएको भनिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत भएको थियो । उक्त प्रस्तावमा समर्थन जनाउँदै सबैजसो पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुले राजीनामा अस्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कांग्रेसले विभिन्न आधारहरुमा टेकेर सभापति थापाले दिएको राजीनामा अस्वीकार गरेको हो । जसमा विशेष महाधिवेशनबाट आएको नेतृत्व मात्रै निर्वाचनमा पराजयको कारण नभएको बरु संरचनागत समस्यहरु नै मुख्य कारण रहेको बताइएको छ ।
त्यस्तै राजीनामा स्वीकार गर्दा पार्टीभित्र थप अस्थिरता बढ्ने, कार्यकर्ताको मनोबल गिर्न जाने लगायतका कारणहरु समेत उल्लेख गरिएको छ ।
यी हुन् कांग्रेसले सभापति थापाको राजीनामा अस्वीकार गर्न अघि सारेका आधारहरु
- निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
- वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
- राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
- राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
- सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
- विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
- पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
- केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले
त्यस्तै आज सम्पन्न बैठकले उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनका सन्दर्भमा समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए । उपसभापति शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन समेत बैठकले पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया