काठमाडौं । नेपाली कांग्रेसभित्रको शक्ति संघर्षले पार्टीभित्र गुटगत गतिविधि बढ्दा विभाजनको संघारमा पुग्न सक्ने आशंका गर्न थालिएको छ ।
एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका लागि बैठकहरू गरिरहेको छ भने अर्कोतिर देउवा र कोईराला समूहले समानान्तर रूपमा आफ्ना गतिविधिहरू अगाडि बढाइरहेका छन् ।
यो अवस्थाले कांग्रेसको भविष्यलाई झनै अन्योलपूर्ण र जोखिमपूर्ण बनाएको छ ।
कांग्रेस नेता श्यामकुमार घिमिरेले पार्टीभित्रको यो ‘इगो’ को लडाईंले आगामी निर्वाचनमा कांग्रेसलाई झनै खुम्च्याउने बताए ।
घिमिरेकाअनुसार अहिलेको मुख्य आवश्यकता भनेको पार्टीलाई एकजुट बनाएर लैजानु भए पनि अहिलेको अवस्थामा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा कार्यकर्ताहरूमा निराशा छाएको छ ।
देउवा–कोईराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको छुट्टै बैठक बोलाउने तयारी गर्नुले पार्टीभित्र दुईवटा समानान्तर केन्द्रहरू बनेको प्रस्ट हुन्छ ।
यो शक्ति संघर्षले नेपाली कांग्रेसको सांगठनिक ढाँचालाई नै कमजोर बनाउँदै लगेको छ । घिमिरेले चेतावनी दिँदै यदि समयमै यो विवाद समाधान भएन भने कांग्रेसले आफ्नो ऐतिहासिक विरासत गुमाउन सक्ने बताए ।
आगामी निर्वाचनमा अस्तित्वको संकट व्यहोर्नुपर्ने हुनसक्ने उनको भनाइ छ ।
सबैको नजर अब पार्टीका शीर्ष नेताहरूले लिने निर्णय र सर्वोच्च अदालतको फैसलामा अडिएको छ ।
उनले भने, ‘यदि कसैले ‘मैले जितिहालेँ अब मेरो मात्र चल्छ’ भन्ने अहङ्कार पालेर अगाडि बढ्न खोज्यो भने त्यो कांग्रेसको लागि आत्मघाती हुनेछ । पार्टीभित्रको यो आन्तरिक कलहले हामी अर्को निर्वाचनमा झन् खुम्चिने र कमजोर हुने सम्भावना प्रबल छ । अदालतको फैसलापछि जसले नेतृत्वको बागडोर सम्हाले पनि, सबै पक्षलाई समेटेर लैजाने उदारता देखाउनुपर्छ । पार्टीलाई एकजुट बनाएर लैजाने बाटोमा अगाडि बढ्नैपर्छ, त्यो हाम्रो बाध्यता हो ।’
नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र कार्यविभाजनलाई लिएर नयाँ र गम्भीर विवाद सतहमा आएको छ । पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र प्रभावशाली नेता डा। शेखर कोईराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको छुट्टै र विशेष बैठक बोलाउने तयारीलाई तिब्रता दिएका हुन् ।
यो कदमले पार्टीको वर्तमान संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको खाडल झनै फराकिलो बनाउने देखिएको छ । आइतबार धुम्बाराहीमा बसेको देउवा र कोईराला पक्षका शीर्ष नेताहरूको गोप्य भनिएको बैठकले हालै सम्पन्न निर्वाचनको परिणाम र पार्टीको आन्तरिक अवस्थाको गम्भीर समीक्षा गरेको छ । बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोईरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
घिमिरेले भने, ‘मेरो बुझाइमा अहिले साथीहरू अत्यन्तै ठूलो अन्यमनस्कको हालतमा हुनुहुन्छ । पार्टी नराम्रोसँग पराजित भएको छ, तर पराजयको समीक्षा गर्ने ठाउँ कतै छैन । १४ औँ महाधिवेशनबाट निर्वाचित भएर आएका हामी केन्द्रीय सदस्यहरू अहिले पूर्ण रूपमा भुमिकाविहीन भएका छौँ । यो अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने चिन्ता सबैमा छ ।’
राजनीतिमा अनौपचारिक भेटघाट र सम्पर्क भइराख्ने कुरा स्वाभाविक भएपनि अहिलेको परिस्थितिमा यो छलफलले विशेष अर्थ राख्छ । देउवा पक्षद्वारा आधिकारिक रूपमा केन्द्रीय समितिको फर्मल बैठक बोलाइहाल्ने निर्णय भइ नसके पनि नेताहरुको आवाज र दबाब निकै बढेको उनले बताए ।
निर्वाचन समीक्षाका लागि पुरानै कार्यसमितिको बैठक बोलाउनुपर्ने मागले पार्टीभित्र नयाँ ध्रुवीकरण सिर्जना गरेको छ ।
यो छलफलले आगामी दिनमा नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया