नेविसंघको १२औँ महाधिवेशनको घोषणा

लोकपथ
35
Shares

काठमाडौं । लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२औँ महाधिवेशन आगामी वैशाख २० र २१ गते गर्ने निर्णय गरेको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वबाट समयमै विधान उपलब्ध नहुँदा महाधिवेशनमा ढिलाइ भएको बताएका छन् । 

उनका अनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कार्यसमितिले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको करिब एक वर्ष हुन लाग्दा पनि त्यसलाई फिर्ता दिइएको छैन ।

शेर्पाले समयमै विधान प्राप्त भएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन सम्पन्न हुने दाबी गरे । उनले आफ्नो कार्यकालको बिचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्ने आग्रहका कारण रोकिएको खुलासा गरे ।

महाधिवेशनलाई कम खर्चिलो र भव्य बनाउने तयारी रहेको उनले जानकारी दिए । विश्वभर रहेका नेविसंघका पूर्व सदस्यहरूबाट पारदर्शी रूपमा कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनको भनाइ छ ।

सभापति शेर्पाले अब विद्यार्थीले आफ्ना नेता र नीति आफैँ छनोट गर्ने वातावरण बन्ने दाबी गर्दै लामो समयदेखिको अन्योल अन्त्यतर्फ उन्मुख भएको बताए । साथै, उनले विद्यार्थी नेताहरूले अब ठुला नेताहरूको ‘झोला बोक्ने’ संस्कार अन्त्य हुने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?