कांग्रेसमा समानान्तर गतिविधि, देउवा पक्षले पनि बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
315
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक चलिरहँदा शेरबहादुर देउवा समूहले समेत केन्द्रीय समिति बैठक बोलाएको छ ।

आज धुम्बाराहीमा देउवा समूहका केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको बैठक बसेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको सो समूहका नेता मीन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।

‘कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यसम्पादन समितिका उपलब्ध सदस्यहरुसँग परामर्श बैठक बसेर छलफल गरेको छ,’ उनले भने ।

त्यस्तै नेता विश्वकर्माका अनुसार केन्द्रीय समिति बैठकको जिम्मा खड्कालाई नै दिइएको छ । आवश्यक परामर्शपछि बैठकको मिति र एजेण्डा तय गरिने उनले बताए ।

‘अब केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाउने भन्ने निर्णय भएको छ । गत निर्वाचनको समीक्षा, पार्टीले आन्तरिक राजनीतिक जीवनमा नै भोगेको ठूलो पराजयको विषयमा समेत कसरी अघि बढ्ने भन्ने छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो,’ उनले भने, ‘अलि बृहत किसिमले छलफल गर्नुपर्ने भएकाले उहाँहरुले नै मिति र एजेण्डाहरु तय गर्नुहुन्छ ।’

यता नेपाली कांग्रेसको वर्तमान संस्थापन समूहको केन्द्रीय समिति बैठक शुक्रबारबाट केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । गत निर्वाचनमा कांग्रेसले लज्जास्पद हार ब्यहोरेपछि भने कांग्रेसमा समानान्तर गतिविधि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?