कांग्रेस प्रवक्ता भन्छन्– ‘शतप्रतिशत केन्द्रीय सदस्य गगनको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा छन्’

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्यहरू एकमत रहेको बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रीय सदस्यले धारणा राखेको र सबैले राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उनले जानकारी दिए ।

उनकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । यसमा आधारित भएर अधिकांश केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

उनले भने, ‘विशेष गरेर निर्वाचनको समीक्षा र सभापतिको राजीनामा दुई विषयमा केन्द्रित रहेर बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजीनामालाई अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै छ, त्यसमा आधारित भएर अधिकांश साथीहरूले राय राख्नुभएको छ । हालसम्म ४६ जना केन्द्रीय सदस्यहरूले बोलिरहँदा शतप्रतिशत साथीहरूले सभापतिको राजीनामालाई फिर्ता गर्नुपर्ने र अस्वीकृत गर्नुपर्ने एकमत जाहेर गर्नुभएको छ ।’

कांग्रेसको केन्द्रीय समितिको बैठक हाल पार्टी मुख्यालय सानेपामा जारी छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले ठूलो पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?