रास्वपाले भन्यो : ‘राजनीतिक नियुक्ति लिएकाले राजीनामा दिएर बाटो खाली गर्दा राम्रो’

लोकपथ
350
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघिका सरकारबाट नियुक्ति लिएकाहरूलाई राजीनामा दिन आग्रह गरेको छ । 

दुई तिहाइको ताजा जनआदेशसहित सरकार निर्माणको प्रक्रियामा लागेको रास्वपाले ‘यसअघिका सरकारले योग्यता, क्षमताभन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति दिएको अनेकौँ उदाहरण रहेको र नागरिक तहमा त्यसप्रति ठूलो असन्तुष्टि देखिएको’ भन्दै बाटो खाली गरिदिन उनीहरूलाई आग्रह गरेको हो । 

उनीहरूले मार्ग प्रशस्त गरिदिए नयाँ सरकारले योग्य, क्षमतावान्, विषयविज्ञहरूलाई छनोट गर्न र नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्न सघाउन पुग्ने विश्वास रास्वपाको रहेको छ । 

नयाँ जनादेशबाट बन्ने सरकारले पनि तिनै नियुक्तिलाई निरन्तरता दिँदा पुरानै कुरालाई निरन्तरता दिएजस्तो हुने भएकाले मार्ग प्रशस्त गरून् रास्वपाको आशय रहेको छ । 

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘हामीले अघिल्ला सरकारबाट राजनीतिक नियुक्ति पाएकाहरूलाई राजीनामा दिइहाल्नुस् भनेर औपचारिक रूपमा भनेका छैनौं, सरकार निर्माणको प्रक्रिया नै बाँकी छ, तर यसअघिका सरकारले राजनीतिक नियुक्ति दिँदा व्यक्तिको योग्यता, क्षमता, विषयविज्ञता हेर्नेभन्दा पनि दलका कार्यकर्ता र आफ्ना वरपरकालाई लाभ दिने गरेको देखिएको छ । त्यसप्रति नागरिकको असन्तुष्टि रहेको छ । नयाँ जनादेशबाट बन्ने सरकारले पनि तिनै नियुक्तिलाई निरन्तरता दिँदा पुरानै कुरालाई निरन्तरता दिएजस्तो हुने भएकाले मार्ग प्रशस्त गरून् भन्ने हाम्रो आशय हो ।’

उनले विगतमा राजनीतिक नियुक्ति लिएकाहरूलाई अब बन्ने सरकारले एकैपटक राजीनामा दिन आग्रह नगर्ने पनि प्रस्ट पारे । उनले भने, ‘विगतमा अर्को सरकार बन्ने बितिक्कै राजदूत फिर्ता, संस्थान वा सरकारी निकायमा नियुक्ति पाएकाहरूलाई पदबाट फिर्ता बोलाउने अभ्यास थियो, तर यसपटक के गर्ने भनेर पनि पार्टी छलफलको चरणमा प्रवेश गरिसकेको छैन । त्यसरी राजनीतिक नियुक्ति लिएकाहरूले स्वतःस्फूर्त राजीनामा दिउन् भन्ने अभिप्राय: भने पार्टीको रहेको छ ।’

उनले अघिल्ला सरकारले झन्डै १ हजार १ सय त्यस्ता नियुक्ति गरेको जानकारी पार्टीलाई रहेको पनि बताए । 

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ स्थानमा जित हासिल गरेको रास्वपा सरकार गठनको तयारीमा लागिरहेको छ । 

रास्वपाका तर्फबाट प्रधानमन्त्री प्रस्तावित बालेन शाहलाई रास्वपाले चैत १२ गते संसदीय दलको नेता बनाउने भएको छ भने भोलिपल्ट उनले पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?