काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मध्यपूर्वको युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती बन्न सक्ने चेतावनी दिएका छन् ।
शनिबार नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनमा उनले हर्मुजघाटीमा बढ्दो तनावका कारण इन्धन आपूर्ति प्रभावित भएको र यसले आगामी दिनमा आर्थिक चुनौती थप्ने बताए । उनले बताए अनुसार नेपालले भारतमार्फत कच्चा तेल र एलपीजी आयात गर्ने गरेको छ । भारतले आयात गर्ने तेल र ग्यासको ठुलो हिस्सा हर्मुजघाटी हुँदै आउने भएकाले त्यहाँको अवरोधले आपूर्ति श्रृंखलामा असर पर्ने सम्भावना छ ।
अग्रवालले नयाँ सरकारले यस चुनौतीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै भने, ‘मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ । नेपालले भारतबाट आयात गर्ने एलपीजी ग्यासको ९० प्रतिशत हर्मुजघाटी हुँदै आउँछ, र अहिले इरानले यसलाई रणनीतिक रूपमा प्रयोग गरिरहेको छ।’
उनले निजी क्षेत्रको मनोबल हाल जेनजी आन्दोलनका कारण कमजोर भएको र सरकारले व्यवसायीलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने बताए । साथै स्वदेशी लगानी प्रवर्द्धनका लागि स्पष्ट नीति ल्याउनुपर्ने, विदेशी लगानीकर्ताले माग गरेजस्तै ‘इनभेष्टमेन्ट प्रमोसन प्रोटेक्सन पोलिसी’ स्वदेशी लगानीका लागि पनि आवश्यक रहेको बताए ।
अग्रवालले राजनीतिक स्थायित्व आएपछि आर्थिक विकासको आधार तयार भएको भन्दै, नीति, पूर्वाधार, वित्त, सीप र विश्वासका पाँच स्तम्भ बलियो राख्नुपर्नेमा जोड दिए । औद्योगिक तथा व्यावसायिक रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भए रोजगारी सिर्जना हुने र युवाको पलायन रोक्न मद्दत पुग्ने उनले बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अपरिहार्य रहेको र अर्थतन्त्रको आकार १०० खर्बमा पुर्याउने, प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने लक्ष्य प्राप्त गर्न कानुनी सुधार, सहकारी क्षेत्रको समस्या समाधान र सूचना प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।
व्यवसायमैत्री वातावरण निर्माणका लागि अग्रवालले कर प्रणाली सुधार, राजश्व विभाग खारेज, भन्सार सहजीकरण, उधारो असुलीसम्बन्धी ऐन ल्याउने, भूतपूर्व कर खारेज, कालोसूची प्रावधान हटाउने, बजार अनुगमनमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने, र नगद कारोबारको सीमा १० लाख पुर्याउने जस्ता कदम उठाउन सरकारलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया