काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् ।
निर्वाचन आयोगदेखि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आचारसंहिता उलङ्घन हुँदा समेत मौन बस्नु, एकपक्षीय प्रचार रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए ।
मिडियादेखि सामाजिक सञ्जालको निष्पक्षतामाथि समेत उनले प्रश्न उठाए । फेक आइडीको दुरुपयोग, मिडियाको एकपक्षीय प्रचार रोक्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे ।
यसैगरी मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व नहुनु यो संविधान र व्यवस्थाकै असफलताको प्रमाण भएको उनले बताए । जनसङ्ख्या अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा एक जना पनि मधेसी दलित नहुनुले यसका लागि पार्टीले सङ्घर्ष गर्ने बताए । मधेसी दलितको सहभागिता नहुनुको कारणबारे उनले निर्वाचन आयोगसँग जवाफ समेत माग गरेका छन् ।
उनले हालै आएको हावाहुरी, असिना पानीका कारण देशैभर गहुँ, मकै, केरा खेतीका साथै आँप, लिची लगायतका बालीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया