काठमाडौं । जलवायु परिवर्तन, लैङ्गिक विभेद, बालविवाह लगायतका सामाजिक समस्यामा जनचेतना फैलाउने उद्देश्यले काठमाडौंको पाटन दरबार क्षेत्रमा शनिबार चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।
यो प्रदर्शनी युवा र प्लान ईन्टरनेसनलको संयुक्त सहकार्यमा सम्पन्न भएको हो । प्रदर्शनीमा १६ देखि २९ वर्षसम्मका युवाहरूका ५० भन्दा बढी चित्रकलाहरू प्रदर्शन गरिएका थिए ।
युवा संस्थाकी प्रोजेक्ट कोअर्डिनेटर नविना तिवारीले प्रदर्शनीको उद्देश्यबारे जानकारी दिँदै भने, ‘जलवायु परिवर्तन, लैङ्गिक विभेद, बालविवाह जस्ता समस्याहरू र त्यसको समाधानलाई चित्रकलामार्फत उजागर गर्न हामीले यो प्रदर्शनी आयोजना गरेका हौँ ।’ उनले चित्रकलासँगै कविताहरू पनि वाचन गरिएको जानकारी दिइन् ।
फेब्रुअरी महिनादेखि देशका विभिन्न क्षेत्रका युवाहरूबाट अनलाइन तथा भौतिक रूपमा संकलन गरिएका कला र कविताहरू शनिबार सार्वजनिक रूपमा प्रदर्शन गरिएका हुन् । प्रदर्शनीमा मिथिला आर्टसमेत प्रस्तुत गरिएको थियो ।
युवा संस्थाको युथ एक्टिभेस लिडर काउन्सिलका स्नेहा भट्टले जलवायु परिवर्तनलाई सबैभन्दा ठुलो चुनौतीको रूपमा औँल्याउँदै भने, ‘हामी चित्रकलामार्फत यसको वकालत र सचेतना फैलाउन चाहन्छौँ ।’ उनले प्रत्येक वर्ष यस किसिमको प्रदर्शनी आयोजना हुँदै आएको जानकारी पनि दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया