मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छ : प्रवक्ता सापकोटा

लोकपथ
63
Shares

काठमाडौं । हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरूमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ ।

मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिए ।

उनकाअनुसार बढ्दो मानसिक त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरूको संख्या पनि बढ्दो रूपमा रहेको छ । यस क्षेत्रमा २० लाख भन्दा बढी नेपाली श्रमिकहरू कार्यरत रहेका छन् । नेपाल सरकारले नेपाल फर्किन चाहने नेपाली श्रमिकहरूलाई राजदूतावासले उपलब्ध गराउने फारम भर्न अनुरोध गरेको छ ।

हाल पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेको प्रवक्ता सापकोटाले बताए । नेपाल फर्किन चाहेका श्रमिकहरूसँग खर्च अभाव देखिएको उनको भनाई छ । उनले नेपाल फर्किन चाहेका र खर्च नभएको नेपालीहरूको उद्धारका लागि संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको जानकारी दिए ।

सोही कोषमार्फत उद्धारको तयारी भइरहेको उनको भनाई छ । संघको १२ औँ महाधिवेशन सम्पन्न भएपछि बसेको विस्तारित बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषलाई बढाएर १० करोड रुपैयाँसम्म पुर्याइने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले कोषको रकम उद्धारको साथै श्रमिकहरूको सुरक्षाको लागि खर्च गरिने बताए ।

साथै तेस्रो मुलुक जानको लागि मध्यपूर्वमा ट्रान्जिट भई अलपत्र परेका नेपालीहरूको व्यवस्थापनमा खर्च गरिनेछ । प्रवक्ता सापकोटाकाअनुसार हालसम्म मध्यपूर्वको द्वन्द्वमा परि दुई नेपालीको मृत्यु भएको छ । धेरै नेपालीहरू असुरक्षा महसुस गरिरहेका छन् । असुरक्षित महसुस गरेका नेपालीको उद्धारको लागि परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका निकायहरूसँग समन्वय गरेर संघले उद्धार टोली परिचालन गरेको उनले जानकारी दिए । उक्त टोलीमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् ।

उनले भने,‘यो अप्ठ्यारो परिस्थितिमा मध्यपूर्वका देशमा २० लाख नेपालीहरू वैदेशिक रोजगारमा हुनुहुन्छ, सबै देशमा गैरआवासीय नेपाली संघका राष्ट्रिय परिषद्हरू पनि छन् । १२ औँ महाधिवेशन सम्पन्न भइसकेपछि हामीले वर्तमान अवस्थामा महत्वका साथ सरकारलाई सहयोग गर्दै त्यहाँ भएका नेपालीहरूको समस्या समाधानमा हामी एकजुट भएका छौँ । हामीले हालैको विस्तारित बैठकबाट वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरेका छौँ । कोषको माध्यमबाट त्यहाँ रहेका नागरिकहरूको उद्धारदेखि आवश्यक सहयोग गर्नेछौँ । कोषलाई हामीले पहिलो बैठकबाट ५ करोड पुर्याउने र त्यसपछि थप १० करोड पुर्याउने र आवश्यक परेमा त्यहाँका राष्ट्रिय परिषद्हरुसंको समन्वयमा आर्थिक संकलन गरेर उहाँहरूलाई उद्धार गर्ने, सहयोग गर्नेमा लगाउनेछौँ । हामीलाई जानकारी भएअनुसार अहिलेसम्म दुई जना नेपालीको मृत्यु भएको छ । नेपाल सरकारले अहिले अप्ठ्यारो परेमा नेपालमा फर्किनको लागि आवेदन दिन आग्रह गरेको छ । हाम्रो पनि राष्ट्रिय समन्वय परिषद्, क्षत्रिय समन्वय समितिले पनि समन्वय गरिरहेको छ । अहिलेसम्म पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेका छन्, उनीहरू आफ्नै खर्चमा फर्किन नसक्ने अवस्था रहेको हामीले सूचना पाएका छौँ । त्यसको लागी गैरआवासीय नेपाली संघले तत्काल प्राथमिकताका आधारमा कसरी गर्न सकिन्छ भनेर तयारी गरिरहेका छौँ । सरकारले पनि टिम बनाएर नजिकबाट काम गरिरहेको छ । परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघका केन्द्रीय कार्यालयका पदाधिकारीहरू र राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रहेको रेस्क्यु टिम छ, त्यसले त्यहाँ रहेका नेपालीहरूलाई त्यहाँ रहेको अप्ठ्यारो परिस्थितिबाट जोगाउन सहयोग गरिरहेका छौँ ।’

प्रवक्ता सापकोटाले मध्यपूर्वमा हाल बाहिर फैलिएको जस्तो भयावहको स्थिति नभएपनि युद्धले आगामी दिनमा लिने रूप भने यकिन गर्न कठिन रहेको बताए । मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास नै बढी रहेको उनले दोहोर्याए । उनले आगामी दिनमा स्थिति अझ जटिल हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सरकार र संघ दुवै सचेत भएर काम गरिरहेको बताए ।

उनकाअनुसार संघले मध्यपूर्व हुँदै अन्य देश जाने नेपालीहरूलाई अस्थायी बसोबास, मार्गदर्शन र सहयोग प्रदान गर्ने गरेको छ । उनले श्रमिकहरूको उद्धार तथा सुरक्षाको लागि विभिन्न देशमा फरक–फरक परिस्थितिअनुसार छुट्टाछुट्टै रणनीति अपनाउनुपर्ने भएकाले त्यसअनुसार योजना बनाइएको बताए ।

उनले भने, ‘त्यहाँ जति हामीले बाहिर सुनिरहेका छौँ, त्यो जस्तो छैन । त्यहाँ भएको क्षति भन्दा पनि बढी मानसिक त्रास हो । भोलि युद्धले कुन रूप लिने हो हिसाबले त्यहाँ त्रास छ । ठूलो सङ्ख्यामा नेपालीहरू यो क्षेत्रमा भएको हुनाले यो भयानक स्थिति आउनसक्छ भनेर सरकार पहिले नै अप्रिय घटना नहोस् भन्नको लागि सजक छ । हामी पनि सरकारलाई सघाउँदै आएका छौँ । राष्ट्रिय समन्वय समिति र क्षेत्रीय समितिहरूलाई परिचालन गरेर हामीले त्यहाँ भएका नेपालीहरूलाई सम्पर्कमा आउन र उनीहरूलाई रेस्क्यू गर्नको लागि काम भइरहेको छ । त्यो मात्रै होइन, अर्को एउटा समुदाय पनि छ, जुन मध्यपूर्व भएर अरू देश जाने पनि हुनुहुन्छ । उहाँहरूलाई पनि गैरआवीय नेपालीको समन्वयमा केही दिनको बसाईंलाईं सहयोग गर्ने, गाईड गर्ने लगायतका काम पनि भएका छन् । तर जतिपनि हामीले बाहिर सुनिरहेका छौँ, त्यस्तो छैन । यद्यपि यो स्थिति अझै भयानक हुनसक्छ भन्ने आँकलन छ । त्यसैलै समस्या भइसकेपछि समाधान गर्न अप्ठ्यारो पर्नसक्छ, किनभने त्यो संख्या अत्यन्तै ठूलो छ । त्यसैले सरकार र हामी सबै सतर्क भएर त्यहाँ भएका नेपालीको उद्धार गर्नुपर्छ भन्नेमा छौ । त्यसमा सरकारले पनि आफ्नो तर्फबाट प्रयास गरिरहेको छ, गैरआवासीय नेपाली संघको तर्फबाट पनि हामी सक्दो प्रयास गरिरहेका छौँ । त्यहाँका नेपालीसँग हामी प्रत्यक्ष सम्पर्कमा छौँ । त्यहाँ प्रत्येक देशमा फरकफरक खालको निर्णय हुनुपर्छ, एउटै खालको निर्णयले सबैलाई समेट्न नसक्ने परिस्थिति पनि आउन सक्छ, त्यसमा पनि हामीले सजकता अपनाएका छौँ । भोली कुनै अप्रिय घटना भइसकेपछि राज्यले कसरी त्यसको व्यवस्थापन गर्नसक्छ, भन्नेमा पनि हामीले राज्यलाई योजनाहरू प्रस्तुत गरेका छौँ । पहिलो चाहिँ राहत र उद्धार नै हो, उहाँहरू अप्ठ्यारोमा हुनुहुन्छ । राहत र उद्धार गर्ने विषयमा हामी काम गरिरहेका छौँ । हामीले हाम्रो सबै ध्यान त्यस क्षेत्रमा फोकस गरेका छौँ ।’

उनले सरकार र संघ दुवैले सम्भावित संकटलाई ध्यानमा राखेर राहत तथा उद्धारलाई पहिलो प्राथमिकताका राखेको जानकारी दिए । द्वन्द्वको कारण ठूलो सङ्ख्यामा नेपालीहरू प्रभावित हुन सक्ने भएकाले समस्या उत्पन्न हुनुअघि नै तयारी सुदृढ पार्ने प्रयास जारी रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?