नवनिर्वाचित सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्नुपर्छ : कमला पराजुली

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरुले जातीय विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएका छन् । 

६१औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औँल्याएकी हुन् । 

अध्यक्ष पराजुलीले जातीय विभेदको शिकार सबै भन्दा बढी दलित महिलाहरू पर्नुपरेको तथ्य प्रस्तुत गर्दै त्यसको अन्त्यका लागि नवनिर्वाचित सांसदहरुले कडा कानुन निर्माण गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गर्न केन्द्रित हुनुुपर्ने स्पष्ट  पारिन् । 

उनले नेपाल प्रहरी र महिला आयोगमा पनि जब्बरजस्ती करणीलगायतका महिला हिंसाका घटना जातीय विभेदका कारण आउने गरेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर निराकरण गर्दै लैजानुपर्ने  बताइन्  । 

उनले भनिन्, ‘जति पनि अहिले हामीले नेपाल प्रहरीमा नै दर्ता भएका उजुरी जब्बरजस्ती करणीका घटनाका उजुरीहरूलाई हेर्ने हो भने त्यहाँ सबै भन्दा बढी दलित बालिकाहरू, दलित किशोरीहरू, दलित महिलाहरू माथिका हिंसाहरू बढी भएका छन् । किनभने उहाँहरू समाजका जोखिमयुक्त समुदायहरू हुनु भयो । महिला हुनु भयो, कमजोर हुनुभयो । हैसियतबाट पर हुनुभयो । अनि जातीय विभेदको पनि मार परेको कारणले यो भयो । अर्को भनेको राष्ट्रिय महिला आयोगमा नै आएको कतिपय लैगिक हिंसाका, घरेलु हिंसाका हेर्दा पनि के छ त भन्दा त्यहाँ पनि जातीय विभेदका प्रभावहरू देखिन्छ । प्रेम विवाह हुन्छ । त्यो विवाह पनि अन्त्यमा गएर बदर हुने त्यहाँ जब्बरजस्ती करणीका उजुरी हुने, अपहरण, कर्तव्य ज्यानका उजुरीहरू हुने । त्यो पनि फेरि गएर जातीयतासँग जोडिएका कुरा हुन्छन् । आज पनिसमाज यतिअगाडि बढ्दाबढ्दै पनि यो अमानवीय अपराधको शिकार भईराखेको अवस्था छ । यो अन्त्य गर्नका लागि आज ठुलो विद्रोहबाट आएको नयाँ निर्वाचित जनप्रतिनिधिहरू प्रतिनिधिसभामा आउनु भएको छ । नयाँ कानुनहरू बन्नेछन् । त्यसको कार्यान्वयन र दलित समुदायको न्यायमा पहुँच पुर्‍याउन पनि हामी अझ बढी प्रभावकारी ढंगले जानुपर्ने देखियो ।’ 

अध्यक्ष पराजुलीले अपहरण, कर्तव्य ज्यानका उजुरीहरू पनि आउने क्रम बढिरहेको उल्लेख गर्दै त्यसको निराकरणमा सम्बन्धित सबै पक्ष गम्भीर बन्नुपर्ने  बताइन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?