मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधार : प्रहरी महानिरीक्षक कार्की

लोकपथ
28
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदको कुरा भइरहनु दुःखद् भएको बताएका छन् । 

अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मानिसको अन्तर्निहित मर्यादा (‘इनहेरेन्ट डिग्निटी’) र आत्मसम्मान सबैभन्दा महत्त्वपूर्ण रहेको बताए ।

महानिरीक्षक कार्कीले सुरक्षालाई केवल भौतिक सुरक्षा नबुझी ‘मानवीय सुरक्षा’को व्यापक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिँदै भ्रूणको रक्षा, बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य र सर्वाङ्गीण सुरक्षाको प्रत्याभूति राज्यको मूल दायित्व भएको बताए ।

उनले भने, ‘आज २१औँ शताब्दीमा हामी फेरि जाति र रङ्गभेदका कुरा गरिराख्न बाध्य छौँ । यसलाई अन्त्य गर्न सबैको ऐक्यबद्धता र जिम्मेवारी आवश्यक छ । मानव -मानवको अन्तर्निहित मर्यादाको रक्षा गर्नु मुलुकको मुख्य दायित्व हो ।’

महानिरीक्षक कार्कीले दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनामा रहेका ‘बोटलनेक’ खुला गर्नुपर्ने बताएका छन् । न्यायमा पहुँचका लागि संस्कार, संस्कृति, शिक्षा र व्यवहारगत पक्षमा सुधार ल्याउनुपर्ने उनको तर्क छ। उनले प्रहरी पनि समाजकै संरचनाबाट बनेको भएकाले कानुन कार्यान्वयनमा सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।

उनले राज्य र संसदले नयाँ कानुन निर्माणमा न्याय, समानता र पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने औँल्याउँदै, शिक्षाको पाठ्यक्रममा नै नागरिकलाई समानता र न्यायका मूल्य सिकाउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?