देशभर २४ घण्टामा ३६ विपद्का घटना : एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति

लोकपथ
91
Shares

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मुलुकका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन् । 

चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । 

९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन् । त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् । 

३० लाखभन्दा बढीको आर्थिक क्षति

विपद्का यी घटनाहरूबाट ठुलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । प्राधिकरणकारअनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । यसै अवधिमा ३० वटा चौपायाको समेत क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहतका लागि देशभर १ सय ७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।  

७ हजारभन्दा बढी घटना, ४ सय ७९ को मृत्यु

२०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको समग्र तथ्यांक हेर्दा नेपालमा विपद्का घटनाहरू भयावह देखिएका छन् । यस अवधिमा कुल ७ हजार १ सय ४० वटा विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८ सय ७० जना घाइते भएका छन् ।

विगत एक वर्षमा भएका प्रमुख घटना र मानवीय क्षति

विगत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटना भएका छन् । जसबाट १०२ जनाको मृत्यु भएको छ । त्यसतै सर्प दंशका ५ सय ९६ घटनाबाट ९८ जनाको मृत्यु भएको छ । त्यस्तै    पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु भएको छ । जनावर आक्रमणका ४ सय ९५ घटनाबाट ५५ जनाको मृत्यु भएको छ भने चट्याङका ३ सय ९३ घटनाबाट ४७ जनाको मृत्यु भएको छ । विगत एक वर्षमा बाढीका ३ सय २० घटनाबाट ३८ जनाको मृत्यु भएको छ । यस अवधिमा कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?