जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्त्वपूर्ण रहेको  बताएका छन् । 

मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताए  ।

‘जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु,‘राष्ट्रपति पौडेलले भने । साथै उनले मधेसी समुदायले देश विकासमा पुर्‍याएको योगदानको सराहना गरे ।

आयोगले बितेका सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि आधार खडा गरेको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने पुर्‍याउने विश्वास व्यक्त गरे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले मधेसभित्रका विविध भाषा, कला, संस्कृति र इतिहास नेपालका गौरव भएका बताए । उनले आगामी दिनमा मधेसी समुदायभित्र पछाडि परेका वर्ग, समुदाय, महिला र सीमान्तकृत समूहको हकहितका लागि आयोगले ठोस कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे । 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सांस्कृतिक तथा भाषिक अधिकार संवर्द्धन र विकास आयोजना कार्यान्वयनमा मधेसी समुदायको सहभागितालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

त्यस अवसरमा आयोगका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?