काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापाको राजीनामाको प्रस्तावलाई अस्वीकृत गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामालाई अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव राखेका हुन् ।
उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
त्यस्तै पार्टी कार्यालय सानेपामा जारी बैठकमा दुई वटा प्रस्तावहरु पेस भएका छन् । निर्वाचनको परिणामबारे समीक्षा गर्ने र सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको थियो ।
‘निर्वाचनको समीक्षा र राजीनामाको प्रस्ताव आजै टुंगिन्छ प्रारम्भिक चरणको । त्यसपछि त्यसपछि हामी निर्ममता पूर्वक सघन तरिकाले पर्सी (आइतबार) देखि निर्वाचनको विषयमा प्रवेश गर्छौँ,’ प्रवक्ता चालिसेले भने, ‘त्यसपछि पुनः हाम्रो पार्टीको पुनर्निमाण, आधुनिकीकरण गर्ने, पार्टीलाई चुस्त र दुरुस्त गराउने कुरा विषयमा अधिवेशन केन्द्रित विषयमा निर्णयहरु पनि हामी गराउँदै जान्छौँ । सायद पछिल्ला बैठकहरुमा हाम्रो सभापति जी पनि उपस्थित हुन सक्नुहुन्छ । किनकी आजको बैठकले नै उहाँको बारेमा अन्तिम निर्णय लिइहाल्छ । बैठकले निर्णय लिएपछि आदरणीय सभापति गगनकुमार थापाकै नेतृत्वमा पर्सीदेखि पार्टीलाई आधुनिकीकरण गर्ने, कसरी आगामी दिनका बारेमा अघि जाने, कसरी हामीले मनोबल उकास्न सक्छौँ, हाम्रो रणनीतिहरु के हुनसक्छ भन्ने विषयमा समीक्षा गर्दै अघि बढ्छौँ ।’
त्यस्तै आजको बैठकमा बोल्ने अधिकांश नेताहरुले सभापति थापाले पार्टीको नेतृत्व गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यता प्रवक्ता चालिसेले सभापतिले गरेको राजीनामा केन्द्रीय समितिले अस्वीकार गर्न पाउने प्रावधान अनुसार आफूहरु अघि बढेको दाबी गरे ।
‘यसलाई नै स्टन्टको रुपमा हेरिदिनु भएन । यही हो प्रक्रिया, वैधानिक रुपमा अघि बढेका छौँ । हामीले राजनीतिमा नैतिक रुपमा स्थापित गर्ने कोशिस गरेका मात्र हौँ,’ उनले भने ।
फागुन २१ को निर्वाचनपछि कांग्रेसको पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । भोलि शनिबार बैठक नबस्ने तर आइतबारबाट नियमित रुपमा बैठक बस्ने कांग्रेसको तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया