काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार संघीय संसद् भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्ने बताएका हुन् ।
मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए ।
वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिए ।
नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठुलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ ।
नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उनले उल्लेख गरे ।
उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताए ।
उनले भने, ‘वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित उद्योगहरूलाई बढवा दिने साझा सहमति भइसकेको छ । यसलाई कार्यान्वयनको पक्षमा पनि केही गृहकार्य हुँदैछ । वाइल्डलाइफ टुरिजम पूर्णतः वन क्षेत्रकै योगदानको कारणले हो । वन मन्त्रालयबाट पुग्ने योगदानकै कारणले हामीले ठुलो मात्रामा वैदेशिक मुद्रा, राष्ट्रिय आय र राजश्व प्राप्त गर्दछौँ ।’
मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुसी नभई, त्यस अनुरूप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया