महिलाको शरीर आफैँमा वारदात स्थल हो : सपना प्रधान मल्ल

लोकपथ
119
Shares

काठमाडौं । सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिलाहरूको न्यायका लागि अदालतले विश्वमै उदाहरणीय नजिरहरू स्थापित गरेको बताएकी छन् ।

शुक्रबार भक्तपुरमा आयोजित कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले बलात्कारसम्बन्धी मुद्दामा महत्वपूर्ण कानुनी सिद्धान्तहरू विकास गरिएको जानकारी दिइन् ।

उनका अनुसार, अब पीडितले घटनास्थल वा ‘लोकेशन’ स्पष्ट रूपमा बताउन नसकेकै आधारमा मुद्दा हार्ने अवस्था अन्त्य गरिएको छ । अदालतले महिलाको शरीर आफैंमा हिंसाको स्थल वा वारदात स्थल हो भन्ने सिद्धान्त स्थापित गरिसकेको उनले उल्लेख गरिन् ।

न्यायाधीश मल्लले अनुसन्धान प्रणालीमा रहेका कमजोरीप्रति पनि गम्भीर चासो व्यक्त गरिन्। पीडितले मुखमा बलात्कार भएको बयान दिँदासमेत योनि परीक्षणका लागि पठाउने जस्ता त्रुटिपूर्ण अभ्यासले न्याय प्रक्रियामा बाधा पुर्‍याउने उनको भनाइ थियो ।

त्यस्तै, पीडितले दिएको विरोधाभाषपूर्ण बयानलाई पनि अदालतले नयाँ दृष्टिकोणबाट व्याख्या गरेको उनले बताइन् । यस्तो अवस्थालाई ‘रेप ट्रमा सिन्ड्रोम’का रूपमा बुझ्ने नजिर स्थापना गरिएको उनको भनाइ छ ।

उनले कानूनमा भएका सुधारहरू प्रभावकारी बनाउन अदालत मात्र नभई अनुसन्धान निकाय र फरेन्सिक प्रणालीमा समेत समन्वय र सचेतना आवश्यक रहेकोमा जोड दिइन् ।

न्यायाधीश मल्लले हिंसामा परेका महिला तथा बालिकाहरूको न्यायका लागि कुनै पनि हालतमा कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?