सभापति थापाको राजीनामाबारे केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्छ : सहमहामन्त्री राणा 

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने  बताएका छन् । 

शुक्रबार कार्यसमितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले यस्तो बताएका हुन् ।  

उनले पार्टीका अधिकांश नेता कार्यकर्ताले अहिलेको राजनीतिक परिस्थितिमा काँग्रेसलाई थापाको आवश्यकता छ भनिरहेको उल्लेख  गरे । 

साथै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे प्रारम्भिक समीक्षा गरिने बताए । प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवारलाई रिपोर्ट पठाउन निर्देशन दिइसकेको उल्लेख सबै निर्वाचन क्षेत्रबाट रिपोर्ट प्राप्त भइसकेपछि निर्वाचनको विस्तृत समीक्षा छिट्टै हुने बताए ।  

उनले भने, ‘अहिले हामी निर्वाचन परिणामको प्रारम्भिक समीक्षा गर्छौँ । हामीले उम्मेदवारहरूको रिपोर्ट मागिसकेका छौँ । रिपोर्ट आइसकेपछि छिट्टै  केन्द्रीय समितिको बैठक बसेर विस्तृत रूपमा समीक्षा गछौं । सभापतिको राजीनामा बारेमा केन्द्रीय समितिका साथीहरूले आफ्नो राय राख्नुपर्‍यो । विधानअनुसार पार्टी सभापतिको राजीनामा केन्द्रीय समितिमा पेस हुन्छ । पदाधिकारीले मात्र भने हुँदैन । अधिकांश नेता कार्यकर्ताले अहिलेको परिस्थितिमा नेपाली काँग्रेसमा गगन थापाको आवश्यकता छ । त्यसैले राजीनामा दिनुहुन्न भन्ने धारणा पहिलेदेखि नै आइरहेको थियो ।’

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुने एजेण्डा तय भएका छन् ।  सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?