काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको अमेरिकी डलरसहित तीन जना नेपाली नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीले आज (बिहीबार) विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया सङ्गीता लामा तथा लिशङ्खुपाखर गाउँपालिका-७ का ४७ वर्षीय विनोद लामा रहेका छन् ।
नेपाल प्रहरी का अनुसार उनीहरु चाइना साउथेनको उडान नम्बर सिजेड ६०६८ को उडान मार्फत चीनको ग्वाङझाउ जान लागेका थिए । सो क्रममा शरीर खानतलासी तथा ब्यागेज स्क्रिनिङ गर्दा उनीहरुको साथबाट ठूलो परिमाणमा अमेरिकी डलर फेला परेको थियो ।
प्रहरीका अनुसार अनिता लामाको साथबाट १० हजार, सङ्गीता लामाको साथबाट १० हजार र विनोद लामाको साथबाट ८ हजार ९०० गरी जम्मा २८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको हो ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया