काठमाडौं । खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१औँ संस्करण पोखरामा शुरु भएको छ ।
नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शुभारम्भ भएको हो ।
प्रतियोगिता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो क्रममा नगर प्रमुख आचार्यले पोखरेली पर्यटनको मेरुदण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई नियमित सञ्चालनका लागि विभिन्न पहलहरू गरिएको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङ उडानलाई पुनः सञ्चालन गर्ने सन्दर्भमा विभिन्न चरणहरूमा समाधान केन्द्रित छलफलहरू गरिएको उनले बताए ।
पोखरा भ्रमणमा आउने अधिकांश पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गरेको प्याराग्लाइडिङ उडानलाई अझ व्यवस्थित बनाउन व्यवसायीहरूलाई उनले आग्रह गरे ।
सुरक्षाको पक्षलाई मजबुत बनाउँदै पर्यटकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिए । पोखरा साहसिक गतिविधिका कारण परिचित रहेको उल्लेख गर्दै यसको गरिमा कायम राख्न उनले अपिल गरे ।
प्रतियोगितामा नेपाल सहित विभिन्न ७ देशका १४ महिला सहित ९० जना प्याराग्लाइडिङ पाइलटहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटाली र लेबनानका खेलाडीहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगिता एक्युरेसी विधामा मात्र सञ्चालन गरिएको छ । सराङकोटबाट टेकअफ भएका ग्लाइडरहरु फेवाताल किनारस्थित खपौदी क्षेत्रमा ल्यान्डिङ हुनेछन् ।
व्यक्तिगत तर्फ प्रथम हुनेले पुरुष तर्फ १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । समूहतर्फ प्रथम हुने टोलीले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेता हुनेले ७५ हजार, उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया