सशस्त्रले गरायो चारै जना डीआईजीको म्याद थप भएको औपचारिक जानकारी

डीआईजी सुरेशकुमार श्रेष्ठ लेख्छन् : ‘दे गेम इज नट एट ओभर’

लोकपथ
350
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूह साधारण उपसमूहका दुई र प्राविधिक समूहका दुई जना गरी चार जना नायव महानिरीक्षक (डीआईजी)को एक वर्ष पदावधि थप गरेको जानकारी प्राप्त भएको भन्दै आ–आफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक ब्यहोरा जनाइदिन सम्बन्धित कार्यालयहरूलाई पत्रमार्फत अनुरोध गरेको छ । 

मानवस्रोत विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलद्वारा हस्ताक्षरित पत्रमा १ चैतको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ६५ को उपनियम (२) बमोजिम मिति २०८२/१२/०६ देखि लागू हुने गरी उमेर ५६ र सेवा अवधि ३० वर्ष ननाघ्ने गरी पदावधि १ (एक) वर्ष थप गरिएकोसम्बन्धी पत्र गृह मन्त्रालयअन्तर्गतको प्रहरी कर्मचारी प्रशासन शाखाबाट ३ चैतमा प्राप्त भएको भन्दै सोही ब्यहोरा जानकारीका लागि अनुरोध गरिएको उल्लेख छ । सो पत्रको चलानी नम्बर ८०६ रहेको छ । 

यस्तै, गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखा सिंहदरबार, काठमाडौंले सशस्त्र प्रहरी मुख्यालयलाई लेखेको पत्रको पत्र संख्या भने ‘०८२/०८३ च.नं.प्र.प्र.टि. १४९/७९५’ रहेको छ । 

त्यस दिनको मन्त्रिपरिषद् बैठकले साधारण समूह साधारण उपसमूहका दुई डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल तथा प्राविधिक समूह स्वास्थ्यतर्फका डीआईजी डा. रूपक महर्जन र प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका डीआईजी ई. सन्दीप थापाको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको थियो । 

म्याद थप गरिएका सिंह अहिले राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र प्रदीप पाल कार्य विभागमा कार्यरत छन् । त्यस्तै, सन्दीप थापा कार्यविभाग र रूपक महर्जन नेपाल एपीएफ अस्पताल, बलम्बुमा कार्यरत छन् । 

यी चारै जना डीआईजी २०७८ साल चैत ६ गते डीआईजीमा बढुवा भएका थिए । बढुवा समितिले २०७८ साल फागुन २७ गते उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । उनीहरू चारै जनाको चार बर्से पदावधि यही चैत ५ गते सकिँदै थियो । 

उनीहरूको म्याद नथप्न सशस्त्र प्रहरीको सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दुई डीआईजी सुरेशकुमार श्रेष्ठ र अन्जनीकुमार पोखरेल राम्रैसँग लागिपरेका थिए । दुई डीआईजी सिंह र पालको म्याद थपे आफूहरूको वृत्तिविकासमा गम्भीर असर पर्ने भन्दै उनीहरूले लबिङ तीव्र पारेका थिए । 

सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीद्वय श्रेष्ठ र पोखरेल एक वर्षअघि चार डीआईजीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष म्याद नथप्न पनि चर्को रूपमा लागेका थिए । उनीहरूको दबाबका कारण यी चार डीआईजीको म्याद नथपेर बसेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अवकाशमा जान तीन घण्टाअघि मात्रै म्याद थपिदिएको थियो । 

त्यसबेला म्याद थप भएका चार जनामध्ये अहिले ठाडामगर सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसकेका छन् भने तीन जना म्याद थपको एक वर्ष पूरा गरेर पनि अवकाशमा गइसकेका छन् । 

गत बैशाख २ गते तत्कालीन एआईजी चन्द्रप्रकाश गौतम ३० बर्से सेवा अवधि पूरा गरेर अवकाशमा गएपछि एआईजीको रिक्त एक पदमा पनि डीआईजीद्वय श्रेष्ठ र पोखरेलले दाबी गरेका थिए । आफूहरूभन्दा ‘सिनियर’ हुँदाहुँदै फारम भरेर लबिङमा लागेपछि ठाडामगरले बोलाएरै उनीहरूको झाँको झारेका थिए ।

डीआईजीद्वय सिंह र पालको म्याद थपेपछि श्रेष्ठ र पोखरेल अहिले आक्रान्त छन् । डीआईजी श्रेष्ठले आज बिहीबार आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘द गेम इज नट एट ओभर ।’ अर्थात् खेल अझै सकिएको छैन । 

उनको यो भनाइले के संकेत गर्छ भने आगामी बैशाखमा रिक्त हुन आउने एआईजीको एउटा पदमा पनि उनले दाबी छाड्ने छैनन् । 

यो पनि

सिंह र पालसहित सशस्त्रका चारै जना डीआईजीको म्याद थप, जिल्लिए सिसं १ बेसिकका श्रेष्ठ र पोखरेल

प्रवीणकुमार श्रेष्ठकै बाटोमा सशस्त्रका चार जना डीआईजीहरु, पदावधि नथपिने संकेत

तनावमा सशस्त्रका चार डीआईजी 

सशस्त्रमा ‘सिनियर’ डीआईजीको म्याद नथप्न ‘जुनियर’हरू नै चलखेलमा, लिए ‘मानमर्दन’ को सहारा

कसको आँखा लाग्यो सशस्त्रका यी दुई डीआईजीलाई ?




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?