मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना

एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने

लोकपथ
28
Shares

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट गठन भएको नयाँ कार्यसमितिले कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुने प्रतिबद्धता जनाएको छ । 

संघका अध्यक्ष डा.हेमराज शर्माका अनुसार सबै पदाधिकारीले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।

कार्यसमितिले युद्ध प्रभावित मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई तत्काल सहयोग गर्न एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको छ । शर्माका अनुसार संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गर्ने र यसलाई विशेष टास्क फोर्सको योजनाअनुसार खर्च गर्ने लक्ष्य राखिएको छ ।

संघमा हाल करिब १ लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै अध्यक्ष शर्माले प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय भएको जानकारी दिए । यसरी कार्यसमितिले चालु कार्यकालभरी राहत कोषलाई ६ करोड रुपैयाँसम्म पुर्‍याउने योजना बनाएको छ ।

अध्यक्ष शर्माले भने, ‘हाम्रो टास्क फोर्सले मध्यपूर्वमा रहेका गैरआवासीय नेपाली नागरिकलाई कसरी सहयोग गर्ने भनेर योजना बनाइ सकेपछि आवश्यक अनुसार कोषको रकम खर्च गर्नेछ। सबै पदाधिकारीले हस्ताक्षरपत्रमा हस्ताक्षर गरी राजनीतिक दल वा दलको भ्रातृ संगठनमा आबद्ध नहुने र कुनै पनि राजनीतिक गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धता जनाएका छन् ।’

बैठकले सचिवालय व्यवस्थापनसम्बन्धी अन्य निर्णय पनि गरेको छ भने नवगठित कार्यसमितिको बैठक शुक्रबारसम्म चल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?