रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदहरूलाई अनुशासनमा रहन रविको चेतावनी

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिएका छन् ।

नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यस पटक कडाइका साथ लागू गर्ने घोषणा गरेका हुन् ।

सांसदहरूलाई जिम्मेवारीवोध गराउने उद्देश्यले आयोजित ‘क्लोज क्याम्प’ जस्तो कार्यक्रममा बोल्दै लामिछानेले सरकारको गणितीय अवस्था जस्तोसुकै भए पनि अनुशासनहीनता सह्य नहुने स्पष्ट पारे ।

रास्वपा भित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि (व्यापार, विद्यार्थी, युवा, महिला, सीमान्तकृत वर्ग, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक आदि) बाट आएका व्यक्तिहरू रहेको भन्दै उनले यो विशाल परिवारलाई एउटै ट्रयाकमा लैजान अनुशासनको अत्यन्त ठुलो खाँचो रहेको औँल्याए ।

उनले भने, ‘सरकार दुई तिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको ‘राइट टु रिकल’को व्यवस्थालाई यस पटक कडाइका साथ लागू गर्नेछ । तपाईँहरूको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै उद्देश्य छैन । तपाईँ स्वतन्त्रताको सदुपयोग गर्नुहोस् तर अनुशासित भएर । अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ ।’

परिवार ठुलो भएको अवस्थामा अनुशासित हुन नसके समाजमा अराजकता सिर्जना हुने र रास्वपाले कुनै पनि प्रकारको अराजकतालाई स्वीकार गर्न नसक्ने उनको भनाइ छ ।

जनताले ठुलो आशा र अपेक्षाका साथ भोट दिएको स्मरण गराउँदै उनले सांसदहरूलाई प्रत्येक दिन आफ्नो जिम्मेवारीको महसुस गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?