सांसदहरुलाई रविको निर्देशन– ‘मन्त्री बन्न मिडिया ट्रायल र लबिङ नगर्नूस्’

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा ‘मिडिया ट्रायल’ नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।

सांसदहरूको अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले सरकारमा जाने विषयलाई लिएर बाहिर जथाभावी नबोल्न सचेत गराएका हुन् ।

रास्वपाले अभूतपूर्व जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरूबीच मन्त्री बन्ने आकांक्षा बढ्नु स्वाभाविक भए पनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उनले आग्रह गरे ।

पार्टीले कसलाई सरकारमा पठाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय गरी नसकेका उनले बताएका छन् । मन्त्री छनोटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञता हुने भन्दै उनले कसैले पनि आफ्नो लागि भनसुन गर्नु नपर्ने बताए । मिडियामा धेरै देखिने र नदेखिने दुवै थरी सांसदहरूको मूल्यांकन पार्टीले गरिरहेको उनले बताएका छन् । 

उनले भने, ‘तपाईहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ । तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर या मिडिया ट्रायलमा ‘म फलानो मन्त्री’ भनेर प्रचार गर्ने काम बन्द गरिदिनुहोला । पार्टीले क्याबिनेटमा को–कसलाई पठाउँछ भन्ने निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौं । पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईले भन्नु पर्दैन ।  हामीलाई तपाईहरूको विज्ञता र क्षमता थाहा छ ।’

उनले चुनावको बेला जनतासँग गरिएको ‘करार’ (प्रतिबद्धता पत्र) का अक्षर–अक्षर पढ्न सांसदहरूलाई निर्देशन दिँदै मन्त्री बन्ने दौडमा भन्दा पनि जनताको चुलो कसरी बल्छ र उनीहरूको जीवनस्तर कसरी उकासिन्छ भन्ने कुरामा ध्यान केन्द्रित हुन निर्देशन दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?