संसदको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, गराउनेछन् नवनिर्वाचित सांसदलाई शपथ

लोकपथ
189
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ मा विजयी सबैभन्दा ज्येष्ठ सदस्यका हैसियतले नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले यो पटक अन्य सांसदलाई शपथ खुवाउने भएका छन् ।

समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका केसीले ज्येष्ठ सदस्यका हिसावले पहिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि अरू सांसदलाई शपथ खुवाउने छन् ।

यति मात्रै होइन, सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यका हैसियतले ७८ वर्षीय केसीले संसद्को अध्यक्षता गर्नेछन् । सभामुखको निर्वाचन ज्येष्ठ सदस्यले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।

को हुन् केसी ?

यसपटकको प्रतिनिधिसभाका २७५ सदस्यमध्ये सबैभन्दा पाका केसी २०४८ र २०५१ सालमा नुवाकोट–३ बाट निर्वाचित भएका थिए । २०५६ मा भने उनी पराजित बने ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा केसी नुवाकोट–१ बाट उम्मेदवार बने । तर पराजित बने । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट विजयी बने ।

जित र हारको. शृंखलाबीच २०७४ मा भने उनले पराजय बेहोर्नु पर्‍यो । त्यसबेला उनी नुवाकोट–२ बाट चुनाव उठेका थिए । २०७९ को निर्वाचनमा भने उनी सोही क्षेत्रबाट विजयी भए ।

यसपटक भने उनी प्रत्यक्षमा निर्वाचन लडेनन् । नेपाली कांग्रेसले उनलाई समानुपातिक सूचीमा राख्यो । र, खस आर्य सूची अन्तर्गत नेता केसी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका हुन् ।

पञ्चायतकालमा नै स्वास्थ्य राज्यमन्त्री बनेका उनी पछि शिक्षा र शहरी विकासमन्त्री पनि भए । उनी २०५२ सालमा स्वास्थ्यमन्त्री, २०५६ सालमा भौतिक योजना तथा निर्माण, २०५६ मै शिक्षामन्त्री, त्यसपछि २०७४ सालमा शहरी विकासमन्त्री बनेका थिए ।

२००४ साल असोज ११ गते नुवाकोटको राउतबेँसीमा पिता भगवानसिंह केसी र माता यशोदादेवीका सुपुत्रका रूपमा जन्मिएका केसी २०१८ सालदेखि राजनीतिमा सक्रिय छन् । बीएल र स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले ६ वर्ष नौ महिना जेल जीवन बिताएका थिए । पार्टी प्रतिबन्ध र आन्दोलनका क्रममा केसी पटक–पटक भूमिगत बसेका थिए ।

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन र कानुन व्यवसायीका रूपमा समेत काम गरेका केसीले अमेरिका, बेलायत, चीन, रुस लगायतका ३३ भन्दा बढी देशको भ्रमण गरेका छन् । केसीले नेपाली कांग्रेसको सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् । नेता केसी समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्छन् ।

अरुको उमेर कति ?

निर्वाचन आयोगले राखेको उमेर विवरणमा उनी हाराहारीका अरू सांसद छैनन् । प्रत्यक्षतर्फ म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव जितेका महावीर पुन ७१ वर्षका भए । मनाङबाट निर्वाचित कांग्रेसका टेकप्रसाद गुरुङ पनि ७१ वर्षकै छन् । रुकुम पूर्वबाट सांसद निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को ७० वर्षका भए ।

यस्तै, समानुपातिकतर्फबाट निर्वाचित भएकामा नेकपाका प्रमेश हमाल ७१ वर्षका भए । नेपाली कांग्रेसकी रुक्मिणी कोइराला ७० वर्षकी भइन् । यस्तै, नेकपा (एमाले)का पुष्पकराज कँडेल ७० वर्षका हुन् । अरू सांसद यसभन्दा कम उमेरका छन् ।

त्यसो त यसअघि ०७९ सालको प्रतिनिधि सभा निर्वाचनपछि राप्रपाका तत्कालीन सांसद पशुपतिशमशेर राणाले सभा सञ्चालन गरेका थिए । सभामुखको चयनअघि तत्कालीन समयमा ८१ वर्षीय राणाले सभा सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?